काठमाडौं । काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ शुरु गरेको हो ।
पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा गर्न थालेको हो । कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दैनिक २० नगर प्रहरीको सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए ।
उनले भने, “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुनःनिर्माणपछि हस्तान्तरण भइसकेको छैन । यद्यपि पोखरी हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले लेउ हटाएका हौँ ।” पोखरीमा पानीको मात्रा घट्दै गएकाले पनि थप समस्या भएकाले पानी भर्ने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिए।
पुनःनिर्माणपछि पोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको थियो । अहिले करिब दुई करोड लिटरको हाराहारीमा मात्र पानी रहेको छ ।
कामपाले पोखरीको पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको भन्दै माछा हालेर पनि सफा र सुन्दर राख्न सकिने विकल्प देखाएको छ ।
गोरखा भूकम्पका कारण क्षति भएको रानीपोखरीको गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःनिर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको थियो । यस सम्पदा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्रधिकरणले पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न गरेको हो ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।