काठमाडौं। दसैं चहलपहल सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको लहर सुरु भएको छ। आईसीई इन्जिन गाडीको तुलनामा विद्युतीय गाडी (ईभी) लिएर उपत्यका बाहिर जाने मानिसको संख्या पनि बढ्दो छ। ईभी आयात, बिक्री तथा प्रयोग बढेसँगै विद्युतीय गाडी चार्जिङ स्टेसन निर्माणले पनि तीव्रता पाएको छ।
दसैंमा आफूसँग भएको ईभी लिएर उपत्यका बाहिर जाने सोच धेरैले बनाएका छन्। तर, बाटोमा केही समस्या आए सर्भिस तथा चार्जका लागि के गर्ने भन्ने विषय सधैं उठ्ने गर्छ। इन्धनबाट चल्ने सवारीसाधनका लागि राजमार्ग तथा ठाउँठाउँमा सर्भिस सेन्टरको सुविधा उपलब्ध छ। ईभीको हकमा चार्जिङ स्टेसन सुविधा बढ्दै गए पनि सर्भिसका लागि इन्धन सवारीजस्तो धेरै विकल्प उपलब्ध भइसकेका छैनन्।
ईभी प्रयोगकर्ताका लागि सबैभन्दा चिन्ताको विषय भनेको लामो यात्रामा निस्किँदा चार्ज कसरी गर्ने र बाटोमा गाडीमा समस्या आए समाधान कसरी गर्ने भन्ने हो। विद्युतीय सवारीसाधन बिक्रेता र विद्युत् प्राधिकरणले मुलुकका प्रमुख सहर र राजमार्गमा चार्जिङ स्टेसन निर्माण गरेका छन्। त्यसकारण अहिले चार्जिङ स्टेसनमा खासै समस्या नपर्ला।
नेपालको सडक अवस्था राम्रो नभएको र सर्भिसका लागि सीमित सर्भिसिङ सेन्टर उपलब्ध हुँदा बाटोमा गाडीमा समस्या आए के गर्ने भन्ने चासो र चिन्ता धेरै ईभी प्रयोगकर्तामा देखिन्छ। यति मात्र नभएर दसैंमा उपत्यका बाहिर जानेको चाप बढ्ने कारण एकैचोटि चार्ज र सर्भिसमा कसरी व्यवस्थापन गर्छन् भन्ने पनि मुख्य कुरा रहन्छ।
यिनलाई ध्यानमा राखेर विभिन्न ईभी कम्पनीले दसैंका लागि चार्जिङ स्टेसन र सर्भिस सेन्टरको विशेष व्यवस्था मिलाएको जनाएका छन्।
हुन्डाईको व्यवस्था
हाल हुन्डाईका ६२ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन्। चार्जिङ स्टेसनमै वर्कसप पनि जोडिएको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलिया भन्छन्, ‘हामीले बिक्री गर्ने हुन्डाई, बीएमडब्लू, फाेर्थिङका लागि उपत्यका बाहिरका मुख्य-मुख्य ठाउँमा चार्जिङ स्टेसन साथै वर्कसप पनि सञ्चालन गरेका छौं।’ यदि बाटोमा केही समस्या आए त्यही वर्कसपमा सम्पर्क गर्न सकिने थपलियाको भनाइ छ।
‘हाम्रो गाडीमा भर्चुअल सुविधा भएका कारण बीच बाटोमा चार्जिङको समस्या आए पनि सजिलै समाधान गर्न सकिन्छ’, थपलियाले भने, ‘सर्भिसिङका लागि पनि हाम्रो टोली ठाउँठाउँमा भएकाले खासै समस्या पर्दैन।’
पछिल्लो समय विद्युतीय सवारी साधनको मर्मत सम्भारमा समस्या आएको र सामान पाउनै मुस्किल हुन लागेको जनगुनासो बढिरहेका बेला हुन्डाईले गुनासो झेल्न नपरोस् भन्ने उद्देश्यका साथ राजमार्गलाई केन्द्रित राखेर चार्जिङ स्टेसनसँगै मर्मतकेन्द्रसमेत राखेको छ।
बीवाईडीको तयारी
दसैलाई समर्पित गरेर चार्जिङ स्टेसन थप्ने योजना बनाए पनि बाटोका कारण सामान समयमा नआइपुग्दा चार्जिङ स्टेसन थप्न नसकिएको बीवाईडीका सर्विस हेड सुशील तन्डुकार बताउँछन्। ‘यस वर्ष दसैंलाई समर्पित गरेर १५-१६ वटा ६० किलोवाटको चार्जर थप्ने योजना बनाए पनि बाटोका कारण सामान नआउँदा थप्न सकिएन’, साइमेक्स इन्कले ठूलो क्यापासिटीको चार्जर थप्ने योजना बनाएको तन्डुकारको भनाइ छ।
‘बीवाईडीको सेन्टर वर्कसपमा एउटा रोड साइड असिस्टेन्ट र प्राविधिक राखिएको छ। बाटोमा समस्या आए उनीहरूले गाडी हेर्छन्,’ तन्डुकारले भने, ‘त्यसबाहेक कुनै गाडी बाटोमा बनाउन नै नसकिने अवस्थामा बिग्रियो भने वर्कसपमै ल्याएर बनाउँछौं।’
बीवाईडीका मुख्य-मुख्य जिल्लामा चार्जिङ स्टेसन छ। त्यहीमाथि एकपटक फूल चार्जमा आफ्नो गन्तव्यमा पुगिने तन्डुकारले बताए। उनका अनुसार चार्जिङका साथै हाम्रो सबै ठाउँमा सर्भिस सेन्टर पनि उपलब्ध छ। बाटोमा समस्या परेका गाडी मर्मतका लागि टोलीलाई सतर्क अवस्थामा राखिएको छ।
एमजीकाे व्यवस्था
विभिन्न ब्रान्डले ग्राहक सुविधाका लागि २४ घन्टै सर्भिसिङ सुविधा दिँदै आएको जनाएका छन्। चार्जिङ स्टेसन र सर्भिसिङ सुविधामा केही ईभी कम्पनीले द्रुत गतिमा काम गरेका छन् भने केही कम्पनी नयाँ भएका कारण सर्भिसमा खासै ध्यान दिइसकेका छैनन्। तर, धेरै कम्पनीले ईभीका लागि विशेष सुविधा दिँदै आएका छन्।
नेपालका लागि एमजी ब्रान्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका नेपालभरि १२ वटा द्रुत चार्जिङ स्टेसन सञ्चालनमा छन्। पारामाउन्ट मोटर्सका सर्भिस हेड शशिन्द्र भण्डारी विगत वर्षमा पनि बाटोमा बिग्रिएका गाडी त्यहीं गएर बनाउने गरेको बताउँछन्।
‘लामो यात्राका लागि जाने ग्राहकले बाटोमा केही समस्या नआओस् भनेर जानुअघि नै सर्भिसिङ गरेर जान्छन्। बाटोमा समस्या कुनै-कुनै गाडीमा आउने भएकाले व्यवस्थापन गर्न गाह्रो हुँदैन,’ भण्डारीले भने, ‘यदि बाटोमा अचानक केही समस्या आए विगत वर्षमा जस्तै त्यहीं गएर बनाउनेछौं।’
सडकको अवस्था राम्रो नभएका कारण कुनै गाडीमा समस्या आए पनि नजिकैको जिल्लाबाट प्राविधिक पठाएर बनाउने उनको भनाइ छ। सर्भिस हेड भण्डारीका अनुसार अहिले ७ किलोवाटको चार्जर ग्राहकलाई नै दिने गरेका छन्। सानो किलोवाटको पोर्टेबल चार्जर बजारमा पनि पाइन्छ, त्यसकारण अहिले चार्जिङका लागि त्यति समस्या नहुने तर्क उनले गरे।
नेपालमा उल्लेखनीय मात्रामा ईभी भित्रिए पनि सोअनुसारको पूर्वाधार नबनेको गुनासो यसै पनि उठिरहेको छ। दसैं-तिहारमा एकैपटक धेरै मानिसले यात्रा गर्ने भएकाले पनि सीमित चार्जिङ स्टेसन र सर्भिसिङ सेन्टर आफैंमा चुनौतीपूर्ण छ।
गाडी बिक्रेता कम्पनीले आफ्ना ब्रान्डका गाडीका लागि विभिन्न ठाउँमा चार्जिङ स्टेसन र सर्भिसिङ सेन्टर सञ्चालन गरे पनि यदि बाटोमै गाडी बिग्रियो भने के गर्ने भन्ने प्रश्न ईभी प्रयोगकर्तामा हुनु स्वाभाविकै हो। त्यति मात्र होइन, सीमित सर्भिसिङ सेन्टर सञ्चालनमा रहेकाले एकैचोटि सर्भिस सेन्टरमा भीडभाड हुँदा कम्पनीले कसरी व्यवस्थापन गर्छन् भन्ने चासो पनि ग्राहकमा देखिन्छ।
चार्जिङ तथा सर्भिसिङका लागि यात्राको क्रममा प्रयोगकर्तामा आइपर्ने समस्या समाधान र व्यवस्थापन गर्न ईभी ब्रान्डले काम गरिरहेको जनाएका छन्।