काठमाडाैं । सीटीएस एन्ड क्लियरिङले आइतबारबाट सेयर कारोबारको राफसाफ तथा पछ्र्यौट चक्र (टी प्लस टु)लाई कार्यान्वयनमा ल्याएसँगै सेयर बजारले नयाँ उचाइ लिएको छ । सेयर कारोबारस्थल नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार कारोबार खुलेदेखि नै आक्रामक बढोत्तरीमा देखिएको थियो ।
खासगरि टी प्लस टुले कारोबार भएको दिनबाहेक दुई दिनभित्र किनेको सेयरको पैसा भुक्तानी खरिदकर्ताले गर्नपर्ने र दुई दिनभित्रै बिक्रीकर्ताले पनि पैसा भुक्तानी पाइसक्नुपर्ने व्यवस्थामा बजारमा चमक आएको हो । आज (आइतबार) सेयर बिक्री गरेको लगानीकर्ताको खातामा मंगलबारभित्र पैसा भुक्तानी भइसक्नुपर्छ भने खरिदकर्ताले पनि मंगलबार अगावै पैसा ब्रोकरको खातामा हालिदिनुपर्छ ।
गत बिहीबार २३७४.६४ अंकमा रोकिएको नेप्से आइतबार कारोबार खुल्नासाथ २४२४.९२ अंकमा चढेको थियो । तर, लगत्तै बजार केही झरेर २४०१ अंकसम्म पुग्यो । नेप्सेले त्यसपछि फेरि उचाइको बाटो पक्रियो र २४२९.१२ अंकसम्म चढ्यो । फेरी सम्हालिने कोसिस गरेको बजार अन्तिम समयमा ५०.२ अंक बढेर २४२४.८४ अंकमा पुगेर रोकिएको छ । नेप्सेको यो उचाइ हालसम्मकै उच्च हो ।
आइतबार नेप्सेले मात्रै उचाइ लिएको छैन करिब २ महिनापछि कारोबार रकममा पनि उछाल आएको छ । आइतबार १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता कित्ता सेयर खरिदविक्री भई ९ अर्व ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । गत मंसीर १४ गते नेप्सेमा ९ अर्व २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
त्यसपछि विस्तारै कारोबार रकम घट्दै जाने क्रम देखिए पनि फेरी नयाँ उचाइमा पुगेको हो । गत सातादेिख निरन्तर कारोबार रकम वृद्धि हुँदै आइरहेकोमा आइतबार रेकर्ड कायम गरेको हो ।
टी प्लस २ ले लगानीकर्तामा एक खालको उत्साह देखिएको छ । अर्कोतिर सेयर बजारमै लगानी गर्ने गरी नागरिक स्टक डिलरले नेपाल धिताेपत्र बाेर्डले अनुमति दिएकाे छ । यसकाे असर पनि नेप्सेमा देखिएकाे छ । अाइतबार नागरिक लगानी काेषाकाे सेयर मूल्य पनि ९ प्रतिशतले बढेकाे छ । लगानीकर्ताहरु सेयर बजारमा भएको सुधारका लागि विगतमा गरिएका सम्झौता लागू गर्न माग गर्दै आएका छन् । विगतमा बजार घटेका बेला बजार सुधारको कदम माग गरेर आमरण अनशन बसेका लगानीकर्ता अहिले बढेकै बजारमा पनि आमरण अनशन बस्ने सरकारलाई जानकारी दिएका छन् ।
यसले सेयर बजारप्रति सरकारले केही सुधारका कामहरु गर्नैपर्ने दबामा आउने र त्यसले बजारमा प्रभाव पार्ने लगानीकर्ताहरुको बुझाई छ । त्यस्तै सूचीकृत कम्पनीहरुले चालू आर्थिक वर्षको अर्धवार्षिक वित्तीय विवरण प्रकाशनमा ल्याउन थालेका छन् ।
प्रकाशित अधिकांश कम्पनीहरुको वित्तीय विवरण राम्रो देखिएको छ । यसले पनि बजारलाई माथि उठाउन सहयोग गरेको छ । अर्कोतिर आगामी चैतसम्म लगानीकर्तालाई व्याजदर भुक्तानी दबाब कम छ । किनभने बजार बढिरहेको बेलामा ‘मार्जिन कल’को सम्भावना पनि कम रहन्छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमास लागेसँगै बैंक तथा वित्तीय सुंस्थाहरुको व्याजदरमा अझै सहजता आएको छ र व्याजदर घट्दो क्रममै छ । राजनीतिक अस्थिरता अझै उस्तै छ र पनि बजारले गति लिइरहेकै छ ।
खासगरी वैशाखमा निर्वाचन घोषणा र कोरोना कहरले लगानीका अन्य क्षेत्र खुम्चेर व्याजदरमा निरन्तर गिरावटले सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका कारण नेप्सेमा दैनन्दिन उचाइ समाउँदै गइरहेको छ । बजारमा आ–आफूअनुकूलका हल्लाहरुलाई लगानीकर्ताले ‘ट्रयाक’ नगरि हल्लाकै पछि कुदेर सेयर खरिद विक्रीमा संलग्न भएमा भने गुमाउने अवस्था पनि आउन सक्छ ।
आइतबार ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने आँकी ११ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार उच्च अंकले बजार बढ्दा पनि व्यापार समूहका लगानीकर्ताले भने गुमाएका छन् । आइतबार नेपाल लाइफको मात्रै ६६ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । विगतमा निरन्तर उकालो लागेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने आइतबार करीव १० प्रतिशतले नै घटेको छ ।