काठमाडौं । आइतबारदेखि लागू भएको ‘टी प्लस टू’को असर मंगलबारको सेयर कारोबारमा देखिएको छ । टी प्लस टूले सेयर किनेको दुई दिनभित्र बिक्रीकर्तालाई भुक्तानी गर्ने र खरिदकर्ताको खातामा सेयर पठाउने बुझाउँछ ।
यस आधारमा भन्दा आइतबार सेयर बेचेका लगानीकर्ताले मंगलबार कार्यालय समयभित्र पैसा भुक्तानी पाइसक्नुपर्छ । आइतबार ९ अर्ब ३७ करोड रुपैयाँबरारबको सेयर कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो भने नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक पनि ५० अंकले बढेको थियो ।
तर, सोमबार सामान्य गिरावट आएको कारोबार रकम र सामान्य वृद्धि भएको सेयर सूचकलाई पछ्याएर मंगलबार भने कारोबार रकम र सेयर सूचक दुवै घट्न पुग्यो । टी प्लस टूले ठूला सेयर खरिदकर्ताहरुलाई अप्ठयारो भएपछि बिक्री चाप बढी र खरिद चाप कम भएको असर बजारमा परेको छ ।
विगतमा टी प्लस थ्री हुँदा धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले चिनेजानेका र ठूला सेयर लगानीकर्तालाई क्रेडिट सुविधा दिन्थे । अर्थात किनेको सेयर खरिदकर्ताको खातामा पठाएर सेयर धनीले त्यो सेयर बैंकमा लगेर धितो राखेर र बैंकबाट भुक्तानी आएपछि मात्रै ब्रोकरले भुक्तानी पाउथे । तर, टी प्लस टू लागू भएसँगै ब्रोकरहरुले यो सुविधा खोसेका छन् । जसले गर्दा सेयर खरिदकर्ताहरु मनोवैज्ञानिक र व्यावहारिक कठिनाइ भोग्नुपर्ने अवस्था छ ।
आइतबारदेखि ब्रोकरहरुले उधारो ग्राहकलाई इमेल, फोन, एसएमएसमार्फत पैसा भए मात्रै सेयर किन्न र ब्रोकर अब उधारोमा सेयर किनिदिन नसक्ने भन्दै खबर गरेका छन् । यद्यपि, यस विषयमा न लगानीकर्ता र न ब्रोकर कसैले पनि जवाफ दिइरहेका छैनन् ।
उधारोमा सेयर किन्न समस्या भएको असर मंगलबारको कारोबारमा देखिएको हो । टी प्लस टूको व्यवस्थाले नगदमा सेयर कारोबार गर्नेहरुलाई सहज र फाइदाजनक देखिएको छ भने पहुँच र चिनेजानेका भरमा उधारोमा कारोबार गर्ने लगानीकर्तालाई समस्या भएको छ । यसले आइतबारको सेयर बिक्रीको भुक्तानी मंगलबारसम्म नपाए, यसको असर बुधबारको कारोबारमा झन बढी पर्नेछ ।
मंगलबार ८ अर्ब २७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा पुगेको छ । यद्यपि, अघिल्लो पटक ८ दिनको निरन्तर सेयर सूचक बढेर गतसाता मंगलबार साढे ५ अंकले सूचकमा गिरावट आएपछि फेरि चार दिन लगातार बढ्दा ११२ अंकले उक्लिएर सोमबार हालसम्मकै उच्च २४४०.८८ अंकमा पुगेको थियो ।
मंगलबार होटल, वित्त उपसूचक बाहेक सबै उपसूचकहरु घटेको असर नेप्सेमा परेको हो । बजार सूचक घटे पनि ४ कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।