काठमाडौं । आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्च (नेप्से)मा पहिरो गएको छ । नेप्सेको यो पहिरो पुस ५ पछिकै ठूलो हो । यद्यपि, निरन्तर बढेको बजारमा बेला-बेलामा सामान्य करेक्सन (सुधार) भने भएको देखिन्छ ।
आइतबार नेप्से सूचक ५४.७५ घटेर २३७०.५४ मा पुगेर एक साता अघिकै बिन्दुमा फर्किएको छ । यद्यपि, गतसाता ३ दिन बजार बढेको थियो भने दुई दिन घटेको थियो । पुस १२ मा १९९८ मा रहेको नेप्से परिसूचक निरन्तर बढेर गत साताको बुधबार हालसम्मै उच्च २४४१.८५ अंकमा पुगेको थियो ।
एक महिनाको बीचमा नेप्सेले उच्च अंक समाउँदा ४ दिन करेक्सनको बाटो समातेको थियो । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने निरन्तर उछाल देखिन्छ ।
गत बिहीबार हालसम्मकै उच्च ९ अर्ब ८९ करोडको कारोबार भएको थियो भने आइतबार पनि सोही कारोबारलाई पछ्याउँदै ८ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । निरन्तर सेयर बजार बढ्दा खासै कारण देखिएको थिएन भने घट्दा पनि कुनै कारणले सहयोग गरेको छैन। यद्यपि, सूचीकृत कम्पनीको अर्धवार्षिक वित्तीय विवरणहरुमध्ये बैंकिङ समूहका कम्पनीहरुको प्रतिसेयर आम्दानीमा गिरावट आएको असर बजारमा परेको छ । यद्यपि, प्रतिसेयर आम्दानी सामान्य रुपमा घटेर मात्रै सेयर बजार घट्नुपर्ने अवस्था छैन ।
लामो समयदेखि (करिब एक महिना) निरन्तर बढेको बजारमा लगानीकर्ताहरुले पछिल्लो समय नाफा बुक गर्ने रणनीति अँगाल्दाको प्रभाव बजारमा परेको हो । गत साता पछिल्लो २ दिन बजार घटेको थियो । यसरी हेर्दा निरन्तर बढेको बजारमा आफू बाहिरिन लगानीकर्ताले प्रयात्न गरेको देखिन्छ । साथै गत सातादेखि कार्यान्वयनमा आएको टी प्लस टूले बजार घट्नमा धेरथोर सहयोग गरेको छ ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डले टी प्लस टू कार्यान्वयन नभए कारबाही गर्ने भन्ने खालका समाचारले पनि बजार प्रभावित बनेको छ । किनभने, यसअघि धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले आफ्न्त, चिनेजनेका र ठूला विश्वासिला लगानीकर्तालाई उधारोमा कारोबार गर्न लिमिट दिने गरेका थिए । टी प्लस टू को कारणले ती लगानीकर्ता अप्ठ्यारोमा परेको बुझ्न सकिन्छ । सामाजिक सञ्जालमा नाम चलेका केही लगानीकर्ताहरुको स्टाटसले पनि त्यसको संकेत गर्छ ।
आइतबारको कारोबारको सूचक प्याट्रनलाई केलाउँदा थ्री भी र एल आधारले सोमबारको बजार पनि केही सुस्ताउने अवस्था छ । तर, कारोबारको अन्तिममा थोरै बढेको जस्तो आभाषा दिएकाले सोमबारको सुरुको कारोबारले भने बढोत्तरी गराउने अवस्था छ । सुरुको बढ्ने कारोबारलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने कुरा भने नियमित कारोबारको चापले देखाउँछ ।
नेप्से उच्च अंकले बढ्नुमा बैंकिङ समूहले ठूलो सहयोग गरेको छ । मुख्य हिस्सा ओगट्ने बैंकिङ समूहमा करिब ४२ अंकले गिरावट आएको छ । गिरावट आउँदाको असर समग्र सूचकमा परेको छ ।
यद्यपि, बजार पुँजीकरणका हिसावमा १६ प्रतिशत हिस्सा रहेको बिमा कम्पनीमध्ये जीवन बिमाको साढे ४ सय र निर्जीवन कम्पनीहरुको उपसूचकमा करिब २ सय ६४ अंकको गिरावट छ । आइतबार नेप्सेमा वर्गीकृत सबै उपसूचकहरु घटेका छन् ।
घट्दो बजारमा पनि प्रभु लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य भने करिब १० प्रतिशतले बढेको छ । दुई कम्पनीलाई पछ्याएको सगरमाथा इन्स्योरेन्सको पनि ८ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ । आइतबार ३ म्युचुअल फन्डसहित १७ कम्पनीको मात्रै सेयर मूल्यमा बढोत्तरी देखिएको छ । बजार ठूलो अंकमा घटे पनि सबैभन्दा धेरै सेयर मूल्य घट्ने रिलाइन्स फाइनान्सको ८.३ प्रतिशत मात्रै छ ।