पोखरा । विघटित प्रतिनिधिसभा सदस्य डा. विन्दा पाण्डेले मुल गेटमा ताल्चा लगाएर भित्र सबै दिएको छौ भनेर महिला अधिकार स्थापित नहुने बताएकी छिन ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आज पोखरामा आयोजना गरेको ‘समृद्धि र लैङ्गिक न्याय’ विषयक अन्तक्रिया कार्यक्रममा डा. पाण्डेले आमाको नामबाट नागरिता दिने विषयमा राज्यबाट भएको विभेदलाई लिएर सो कुरा बताएकी हुन ।
डा. पाण्डेले भनिन “राज्यका हरेक निकायमा शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा हरेक क्षेत्रमा नागरिकता आवश्यक हुन्छ । नागरिकता विना केही हुँदैन तर त्यही भित्र पस्ने मुल गेटमा ताल्चा लगाइएको छ अब त्यस भित्रको अधिकार जे भए पनि महिलाले कसरी उपयोग गर्न सक्छनु ? ”
उनले आमाका नामबाट नागरिकता दिने स्थानमा लैङ्गिक संवेदनशिलता नबुझ्ने पुरुष मानसिकता मात्रै हावी हुँदा महिलाले पाइला पाइलामा विभेदको सामना गर्नुपरेको बताइन । “नागरिकता पहिचान गर्ने अधिकार पुरुषमा हुनु र पुरुषको सहयोग लिनु पर्ने प्रावधानले महिलालाई सधै आश्रित रुपमा राखेको छ ।” पाण्डेले भनिन् ।
डा.पाण्डेले नागरिकतामा राज्यले विभेद गरेको र पैत्तिक सम्पत्ति, आर्थिक अधिकारमा जन्मदिने आमाबुबाबाटै विभेदको सामना गनुपरेको बताइन । पैत्तिक सम्पत्तिमा आफ्नै आमाबुबाले छोराछोरीमा समान सोच राख्न नसकेको उनको भनाइ थियो ।
त्यसैगरी विघठिट प्रतिनिधि सभाका अर्का सदस्य विद्या भट्टराईले प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा सामाजिक न्याय स्थापित हुन नसकेको बताइन । “राज्यको सहयोग गर्ने प्रणाली भत्किएको छ, तर नयाँ सहयोग गर्ने प्रणाली निर्माण हुन सकेको छैन, प्रणाली परिवर्तन भयो तर प्रवृत्ति उस्तै छ ।”
उनले लोकतन्त्रका धेरै संरचना निर्माण गर्न बाँकी रहेकाले महिलाको एकिकृत शत्तिको खाँचो औल्याइन । भट्टराइले भनिन् “महिला विकासका लागि महिलाहरुको साझा मुद्दा र समस्यामा संगठित र एकिकृत आवाजको आवश्यकता हुन्छ, यसले चुनौतीमा जुध्ने शक्ति प्रदान गर्छ भने कानुनमा लेखिएका कुरालाई कार्यान्वयनमा जान सहयोग पुग्छ ।”सांसद भट्टराइले महिलाको मर्यादा र सामाजिक मूल्यको व्याख्या ‘सेक्स’सँग जोड्नु नै महिलालाई कमजोर बनाउने हतियार भएको बताइन ।
मञ्चका अध्यक्ष पार्वती पाण्डेले पर्यटन क्षेत्रका महिलालाई सवल र सक्षम बनाउन विविध विषयको ज्ञान आवश्यक रहेको ओल्याउँदै वक्ताद्धयका भनाइले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा महिलाले भोग्नु परेका समस्याहरुको बारेमा प्रशिक्षित गराएको बताइन । उनले अझै पनि महिला आफ्नो भूमिकाको खोजी गर्दा अनेक खालका विभेदको सामना गर्नुपरेको भनाइ राखिन ।
कार्यक्रममा मञ्चका सल्लाहकार पम्फा पहारी, उपाध्यक्ष उमा भण्डारी लगायत कार्यक्रमका सहभागीहरुले डा. पाण्डे र भट्टराई समक्ष नीति निर्माणमा महिलाको सहभागिता र उनीहरुको भूमिकाकाबारे जिज्ञासा र महिला मैत्री नीति निर्माणमाका लागि सुझाव राखेका थिए । कार्यक्रममा मञ्चका ६० जना सदस्यको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिइन ।