काठमाडौं । कोरोना भाइरसका कारण संसारभर उत्पादन र माग शुन्यमा झरेको छ । कैयौं कम्पनीले आफ्नो उत्पादन ह्वात्तै घटाएका छन् । बजारमा माग कम भएपछि लाखौंमा संख्यामा रोजगारी समेत कटौती गरेका छन् ।
सरकारले दिएको राहतले समेत माग बढ्न नसकेपछि धेरै उद्योग टाट पल्टिने अवस्थामा पुगिरहेका बेला नेपालमा बहुराष्ट्रिय कम्पनीको सेल्समा चमत्कारिक सुधार आएको छ ।
खासगरी, कोकाकोला, पेप्सी, युनिलिभर, डाबर नेपालको उत्पादन सोचेभन्दा कैयौं गुणा बढी भएको बताइरहेका छन् । गर्मी सिजन सुरु भएसँगै कोकाकोला तथा पेप्सीको उत्पादन पूर्ण क्षमतामा भइरहेको छ । त्यसैगरी बिक्री पनि सतप्रतिशत नै भइरहेको उनीहरूको भनाइ छ ।
‘दुई महिनाको बीचमा सेल्सको भोल्युम अप्रत्याशित रुपमा वृद्धि भएको छ,’ युनिलिभर नेपालका प्रतिनिधिले भने, ‘यसरी बिक्रीमा सुधार आउँछ भनेर व्यवस्थापन तथा लगानीकर्ताले सोचेकै थिएनन् ।’
बजारबाट युनिलिभर नेपालका उत्पादनको माग बढेपछि उद्योग पनि पूर्ण क्षमतामा चलेको छ । त्यसैगरी कोकाकोला र पेप्सीको व्यापारमा पनि सतप्रतिशतमा छ । गर्मी सुरु भएसँगै व्यापारले लय समात्न थालिसकेको थियो । तर, अहिले बोटलर्स नेपाल र तराई बोटलर्सले पूर्ण क्षमतामा उत्पादन गरिरहेका छन् । बजारबाट पनि अत्यधिक माग आइरहेको कम्पनीले जनाएको छ ।
उनीहरूको अनुसार गत वर्षको यही अवधिको तुलनामा अहिले सेल्स बढी भएको छ । सेल्स बढ्ने बित्तिकै उत्पादन पनि सोहीअनुरूप पुगेको उनीहरूको दाबी छ । गत वर्ष यो बेला ८० देखि ९० प्रतिशत क्षमतामा उद्योग चलेको थियो । तर, अहिले १०० प्रतिशत क्षमता उद्योग चलेको बोटलर्स नेपालका एक अधिकारीले जानकारी दिए ।
नेपालका बहुराष्ट्रिय कम्पनीको बिक्री ६० प्रतिशतसम्म घटेको छ । तर, नेपालमा बिक्रीले चुचुरो चुम्न थालेको बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरू बताउँछन् ।
उद्योगीहरूले पनि नेपालमा कोभिड सुरु हुनुभन्दा पहिलाको अवस्थामा उत्पादन पुगिसकेको बताइरहेका छन् । खासगरी, सिमेन्ट, स्टिल, एफएमसीजी, खाद्यान्न, औषधि, अटोमोटिभको बिक्री सोचेभन्दा धेरै राम्रो भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छ बताउँछन् ।
‘कोभिडले पारेको असर त छँदै छ । त्यसलाई तुलना गरिएको छैन । तर, गत वर्षको यही अवधिको तुलनामा अहिले उत्पादन धेरै राम्रो भइसकेको छ,’ उनले भने । त्यसका अलवा आन्तरिक उडाउनमा पनि धेरै सुधार आइसकेको छ ।
आन्तरिक उडान पनि ब्यापक बढेको छ । अहिले भैरहवाबाट मात्रै दैनिक १७ वटा उडान भइरहेको छ । त्यहाँ ७० सिटर जहाज जान्छ । एउटा गन्तव्यबाट मात्रै दैनिक हजार जना बढी यात्रु आवात जावात हुन थालेको छ । यसबाट पनि नेपालको अर्थतन्त्रले विस्तारै गति समाउन थालेको पुष्टि हुने गोल्छाको भनाइ छ ।
त्यसैगरी, बियरको उत्पादन पनि पूर्ण क्षमतामा भइरहेको छ । नेपाली तथा बहुराष्ट्रिय कम्पनीले पूर्ण क्षमतामा बियर उत्पादन गरिरहेका छन् । गर्मी लागेको र रेष्टुराँ खुलेपछि बियर खपत बढेको र त्यसको सकारात्मक असर उत्पादन परेको सम्बद्ध उद्योगीहरू बताउँछन् ।