काठमाडौं। आयातमा निर्भर अटोमोबाइल बजारलाई उत्पादनमुखी दिशातर्फ मोड्ने लक्ष्यका साथ हुन्डाईको एसेम्बल उद्योग विगत डेढ वर्षदेखि सञ्चालनमा छ। एसेम्बल उद्योग सञ्चालन हुँदा नयाँ रोजगारी सिर्जना, सीप विकास र औद्योगिकीकरणलाई टेवा दिइरहेको छ।
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा अत्याधुनिक एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको हो। लक्ष्मी मोटर्स कर्पोरेसन (एलएमसी) कोरियाली हुन्डाई मोटर्सका गाडी नेपालमै एसेम्बल रामग्राम नगरपालिकामा साढे नौ बिघाभन्दा बढी क्षेत्रफलमा १४ हजार वर्गमिटर क्षेत्रफलको भव्य संरचना खडा गरेको छ। एलएमसी लक्ष्मी ग्रुपको सहायक कम्पनी हो।
अत्याधुनिक एसेम्बली प्लान्टको पाँच हजार इकाई वार्षिक उत्पादन क्षमता रहेको छ। जहाँ हुन्डाई मोटर कम्पनी (एचएमसी)का सबै मापदण्डको पालना गर्दै गाडी उत्पादन गरिरहेको छ। लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हुन्डाईको एसेम्बल प्लान्टको सफलताले नेपालमा अटो क्षेत्रको औद्योगीकरणको बाटो सहज रहेछ भन्ने सन्देश दिइरहेको जानकारी दिए।
‘अहिलेसम्म आयातमा निर्भर रहेको बजारलाई हुन्डाईले उत्पादन गरेर बिक्री गर्नु आफैँमा चुनौतीपूर्ण थियो,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘हाम्रो एसेम्बल उद्योगको सफलता अटो क्षेत्रको सफलता हो। नेपालमा पनि एसेम्बल उद्योगको सम्भावना छ भन्ने पुष्टीसमेत गरेको छ।’
रोजगारी सिर्जनाको नयाँ अवसर बन्न सक्छ एसेम्बल उद्योग
एसेम्बल उद्योग सञ्चालनसँगै नयाँ रोजगारी सिर्जना, प्राविधिक सीप विकास र औद्योगीकरणको आधार विस्तार हुँदै गएको छ। यही अनुभव अहिले बन्न लागेको नयाँ सरकारका लागि अवसरको रूपमा देखिएको छ। आयात प्रतिस्थापन गर्दै उत्पादन विस्तार गर्ने सम्भावनाको ढोका खुलेको छ।

भदौ २३-२४ मा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिवेश र त्यसपछिको प्रतिनिधिसभा निर्वाचनले देशलाई नयाँ आर्थिक बहसको केन्द्रमा ल्याएको छ। भ्रष्टाचार अन्त्य र स्वदेशमै रोजगारी सिर्जना गर्ने जनअपेक्षा बोकेर सत्तामा आउने तयारीमा रहेको नयाँ नेतृत्वमाथि अब नीतिगत रूपान्तरणमार्फत ठोस परिणाम दिनुपर्ने दबाब छ। विशेषतः वर्षौदेखि रेमिट्यान्समा निर्भर रहेको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने चुनौती अहिलेको सबैभन्दा ठूलो एजेन्डा बनेको छ।
नेपालको अर्थतन्त्र अहिले पनि ठूलो मात्रामा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा निर्भर छ। तर, मध्यपूर्वलगायत गन्तव्य मुलुकमा देखिएको भू–राजनीतिक तनाव, आर्थिक अनिश्चितता र श्रम बजारको बदलिँदो स्वरुपले यो स्रोत दीर्घकालीन रूपमा सुरक्षित नरहने संकेत दिइरहेको छ। वैदेशिक रोजगारी गुम्ने जोखिम बढ्दै जाँदा र आम्दानीमा अनिश्चितता देखिँदा, स्वदेशमै रोजगारी सिर्जना गर्ने वैकल्पिक आधार निर्माण गर्नु अपरिहार्य बन्दै गएको छ।
यता, नेपालको उपभोग संरचना अत्यधिक आयातमुखी छ। दैनिक उपभोग्य वस्तुदेखि उच्च मूल्यका सवारी साधनसम्म अधिकांश वस्तु विदेशबाट आयात भइरहेका छन्। अटोमोबाइल क्षेत्रमा मात्र हरेक वर्ष खर्बौं रुपैयाँ बाहिरिने अवस्था छ। यही अवस्थालाई रुपान्तरण गर्न सकिने सम्भावनाका रुपमा अटोमोबाइल एसेम्बल उद्योगलाई हेरिएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।
हुन्डाईको एसेम्बल प्लान्ट यसको प्रमुख उदाहरण बनेको छ। सञ्चालनमा आएको छोटो अवधिमै यसले तीन सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा सयौँलाई रोजगारी सिर्जना गरेको छ। यसले अटो क्षेत्रको परम्परागत आयात र बिक्री केन्द्रित सोचलाई परिवर्तन गर्दै उत्पादनतर्फ उन्मुख गराउन थालेको छ।
विगतमा अटोमोबाइल क्षेत्रमा संलग्न अधिकांश जनशक्ति बिक्री र बजार व्यवस्थापनमै सीमित थिए। इन्जिनियरिङ पृष्ठभूमिका युवाहरूसमेत ‘सेल्स-ओरिएन्टेड’ भूमिकामा केन्द्रित हुन बाध्य थिए। गाडी कसरी बेच्ने भन्ने सीप विकासमा मात्र ध्यान थियो। उत्पादन प्रक्रियासँग सम्बन्धित व्यावहारिक अनुभव हासिल गर्ने अवसर न्यून थियो। तर, एसेम्बल उद्योग सञ्चालनसँगै यो प्रवृत्तिमा परिवर्तन आउन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाको अनुभव छ।

‘अहिले नेपाली प्राविधिकहरू गाडीका विभिन्न पार्टहरू जडान गर्ने, उत्पादन लाइनमा काम गर्ने, गुणस्तर परीक्षण गर्ने र समस्या समाधान गर्ने प्रक्रियामा प्रत्यक्ष संलग्न छन्,’ महाप्रबन्धक थपलियाले भने ‘यसले उनीहरूलाई सेल्सओरिएन्टेडबाट प्रोडक्सन ओरिएन्टेड बनाउने दिशामा लैजाँदै छ।’
पछिल्लो डेढ वर्षमै उत्पादन क्षेत्रमा संलग्न जनशक्तिमा आएको परिवर्तन उल्लेखनीय छ। आधुनिक उपकरण, लाइन आधारित उत्पादन प्रणाली र गुणस्तर मापदण्डअनुसार काम गर्ने अनुभवले उनीहरूको दक्षता बढेको छ। यसले दीर्घकालमा देशमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने आधार तयार पारिरहेको छ।
एसेम्बल प्लान्टमा १४ वटा उत्पादन लाइनमार्फत विभिन्न चरणमा काम भइरहेको छ। चेसिस जडानदेखि अन्तिम गुणस्तर परीक्षणसम्म प्रत्येक चरणमा छुट्टाछुट्टै विशेषज्ञता आवश्यक पर्छ। यस प्रक्रियामा संलग्न जनशक्तिले गाडी निर्माणको सम्पूर्ण चक्रबारे व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्। यसले उनीहरूलाई भविष्यमा थप उन्नत उत्पादन प्रक्रियामा काम गर्न सक्षम बनाउने अपेक्षा गरिएको महाप्रबन्धक थपलियाले बताए।
‘यो परिवर्तन केवल एउटा उद्योगमा सीमित छैन, यसले समग्र औद्योगिक सोचमै प्रभाव पार्न सक्ने क्षमता राख्छ,’ महाप्रबन्धक थपलियाले भने, ‘उत्पादन प्रक्रियामा संलग्न जनशक्तिले समस्या समाधान गर्ने, नवप्रवर्तन गर्ने र सुधार ल्याउने अवसर पाउँछन। यसले उद्यमशीलता विकासमा समेत योगदान पुर्याउन सक्छ।’
मल्टिनेशनल कम्पनीसँगको सहकार्यमा नेपालमा एसेम्बल उद्योग सञ्चालन हुनु आफैँमा महत्वपूर्ण संकेत हो। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली जनशक्तिको क्षमताप्रति विश्वास बढाएको छ। विदेशी कम्पनीले उत्पादन जिम्मा दिनु भनेको नेपाली प्राविधिकको दक्षता र विश्वसनीयतामाथि भरोसा गर्नु हो।

यसको प्रभाव विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूमा समेत देखिन थालेको छ। अब उनीहरूले नेपालमै हासिल गरेको औद्योगिक अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्ने भएका छन। यसले उनीहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ।
किन थपिएन चार पांग्रेको एसेम्बल उद्योग?
नेपालमा हाल ४०–५० भन्दा बढी ब्रान्डका सवारी साधन बिक्री भइरहेका छन्। यदि तीमध्ये धेरैले स्वदेशमै एसेम्बल प्लान्ट स्थापना गर्ने निर्णय गरे भने, रोजगारी सिर्जना, सीप विकास र औद्योगिक विस्तारमा ठूलो फड्को मार्न सकिन्छ। यसले अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउन सक्छ।
तर, यति ठूलो सम्भावना हुँदा पनि एसेम्बल उद्योगले अपेक्षित गति लिन सकेको छैन। यसको मुख्य कारण नीतिगत अवरोध हो। विशेषगरी कर संरचनामा रहेको विसंगतिले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बन्न नदिएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अध्यक्ष ऋतुसिंह वैद्यको भनाइ छ।
हालको व्यवस्थाअनुसार तयार गाडी आयात गर्दा नलाग्ने अन्तः शुल्क स्वदेशमै एसेम्बल गरिएको गाडीमा लाग्ने व्यवस्था छ। एसेम्बल गाडीमा करिब ३२.५ प्रतिशत अन्तः शुल्क र १३ प्रतिशत भ्याट लाग्ने हुँदा यसको मूल्य आयातित गाडीभन्दा कम गर्न कठिन भएको छ। यसले उपभोक्तामाझ मूल्य प्रतिस्पर्धामा समस्या सिर्जना गरेको उनले बताइ।
उदाहरणका लागि, यदि कुनै गाडीमा एक लाख रुपैयाँ बराबरको भ्यालु एडिसन गरियो भने त्यसमा मात्र ३२ हजार ५०० रुपैयाँ अतिरिक्त अन्तःशुल्क तिर्नुपर्ने हुन्छ। यसले उत्पादन लागत बढाउँछ। उद्योग विस्तारमा अवरोध सिर्जना गर्छ।
सरकारले भ्यालु एडिसन बढाउने नीति ल्याए पनि सोही अनुपातमा करको बोझ पनि बढ्ने व्यवस्था व्यावहारिक रुपमा उद्योगमैत्री छैन। त्यसैले उत्पादनलाई प्रोत्साहन गर्ने हो भने अन्तः शुल्क र कर संरचनामा पुनरावलोकन आवश्यक रहेको निजी क्षेत्रको तर्क छ।
सरकारको एक निर्णय, जुन हुन सक्छ निर्णायक
धेरैभन्दा धेरै सवारी साधानको एसेम्बल नेपालमै गर्न सके रोजगारी सिर्जना अहिलेको तुलनामा धेरै हुन्छ। हुन्डाईकै उदारणको रुपमा हेर्दा एउटा एसेम्बल उद्योग सञ्चालनमा आउँदा ३०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। तीमध्ये ३० देखि ३५ प्रतिशतसम्म स्थानीयहरुले रोजगारी पाइरहेका छन्।

हुन्डाईको एसेम्बल उद्योगमा थपिएको ३०० जनाको रोजगारी गाडी बिक्रीभन्दा बाहिरको हो। त्यसैको आधार मानेर अब बन्ने सरकारले एसेम्बल उद्योगलाई प्राथमिकता दिने निर्णय गरेर अगाडि बढे औद्योगीकरणको जग सुरु हुने विश्वास उद्योगीहरुले लिएका छन्।
सरकारले सरकारी कार्यालय र सरकारी प्रयोजनका लागि प्रयोग गरिने सवारी साधान नेपालमै एसेम्बल भएको लिने भनेर निर्णय मात्र गरे पनि धेरै उद्योगहरु नेपालमा आउने विश्वास उद्योगीको छ।
अहिले जोखिम मोलेर एसेम्बल उद्योग राखे पनि सरकारी कामकाजमा प्रयोग हुने गाडी विदेशबाट आउने भएकाले धेरै प्राथमिकतामा नराखी अहिलेको सरकारले यो जोखिम मोलेर निर्णय गरे धेरै राम्रो हुने र रोजगारी सिर्जना तत्कालै हुने दाबी उद्योगी व्यवसायीको छ। अझ नेपालमा बढ्दो विद्युतीय सवारी साधनको प्रयोगको लहरको बेला एसेम्बल उद्योगहरु धेरै आउन सक्ने ती उद्योगीहरुको दाबी छ।