काठमाडौं । निषेधाज्ञामा खाद्य व्यवस्था सहज बनाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४ वटा नयाँ बिक्री केन्द्र सञ्चालन गर्ने भएको छ । कम्पनीले थापाथली, नख्खु, रामशाहापथ र सूर्यबिनायकमा खाद्यान्न बिक्री केन्द्र सञ्चालन गर्न लागेको हो ।
कम्पनीका अनुसार, बिहान ७ देखि ११ बजेसम्म रामशाहपथ र सूर्यबिनायकबाट बिक्री गरिनेछ । त्यस्तै नख्खुमा बिहान ७ देखि १० बजेसम्म पहिलो र १० दखि साँझ ५ बजेसम्म दोस्रो गरी दुइचरणमा खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै थापाथलीमा रहेको प्रादेशिक बिक्री केन्द्रबाट भने ३ चरणमा खाद्यfन्न बिक्री हुनेछ । जसअनुसार, पहिलो चरण बिहान ७ देखि १० बजेसम्म, दोस्रो चरण १० देखि ५ बजे र तेस्रो चरणमा साँझ ५ देखि ७ बजेसम्म गरी पसल सञ्चालन हुनेछ ।
कम्पनीले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने कुरालाई मध्यनजर गरी पसल सञ्चालन गर्न लागेको हो । कम्पनीले सञ्चालन गर्ने उक्त पसलमा बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु र स्यानिटाइजर पाइन्छ ।
यसका साथै अनलाइमार्फत उपत्यका भित्र निःशुल्क खाद्यान्नको अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको अनलाइन पोर्टलः नेपालफुड डट जीओभी डट एनपी तथा सस्तो डिलडटकममार्फत उपभोक्ताले सामाग्रीको माग गर्न सक्नेछन् ।
साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग नेपाल भरी पर्याप्तमात्रामा खाद्यान्नको सामान मौजात रहेकाले उपभोक्ताले आवश्यकभन्दा बढी सामान किनेर नराख्न कम्पनीले आग्रह गरेको । उपभोक्ताले अनावश्यक खाद्य वस्तुको खरिद गर्दा बजारमा कृतिम अभाव सिर्जना हुन्छ ।
