काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।
सो मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिले कोरोना भाइरसको संक्रमण निकै उच्च गतिमा फैलिरहेको बताएको हो। मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ ।
संक्रमण उच्च गतिमा फैलने जिल्लाहरुमा झापा, पर्सा, बारा, मकवानपुर, काभ्रे, कास्की, मोरङ, सुनसरी, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलने दर डरलाग्दो गरी बढिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, मन्त्रालयले कुनै पनि मार्गबाट देश-विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने काम पूर्ण रूपमा नगर्न अपिल गरेको छ।
