काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दाबी गरेको छ । अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटसम्बन्धी पत्रकार सम्मेलनमा अर्थसचिव शिशीरकुमार ढुंगानाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताए ।
पहिलो चरणको कोरोना महामारी कम हुना साथ गएको कात्तिकसम्म ४ प्रतिशत आर्थिक वृद्धि हुने आधार बनेको बताउँदै उनले सोही आधारमा वृद्धिको लक्ष्य राखिएको स्पष्टपारे । राहत र पुनरुत्थानले आर्थिक गतिविधि बढाउने र यसले वृद्धिलाई सहयोग पुग्ने उनले जानकारी दिए ।
चालू आर्थिक वर्षमा सरकारले ७ प्रतिशत आर्थिक विस्तार गर्ने लक्ष्य लिएको छ । तर, कोरोनाको कहरले खुम्चिन पुगेको छ । बजार खुल्नेबित्तिकै आर्थिक गतिविधि चलायमान हुने र यसले माग बढाउने भएकाले सहजै रुपमा लक्षित आर्थिक वृद्धि हासिल हुने उनको भनाइ छ ।र
सचिव ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनरुत्थान हुने विश्वासका साथ बजेट आएको बताए । राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभई कानूनबमोजिम सामान्य समायोजन गरेको बताए ।
बजेटको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ११.५ प्रतिशत रहेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय मानकमा आधारित रहेर आन्तरिक ऋण लिन खोजेको उनले स्पष्टपारेका छन् ।
अर्थले आयोजना कार्यान्वयनलाई तीब्रता दिने र विषयगत मन्त्रालयहरुले नयाँ कार्यविधि बनाएमा अर्थको सहमति लिए हुने व्यवस्था गरिएको उनले सुनाए ।
५ अर्ब रुपैयाँभन्दा ठूला आयोजना स्पेशल प्रपोज भेहिकल (एसपीभी) बाट कार्यान्वय गर्ने तयारी भएको सचिव ढुंगानाले बताए । उनका अनुसार अर्थले आयोजनाको निरन्तर अनुगमन गर्ने भएको छ ।