काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ वर्षको बजेटमा माथिल्लो तामाकोसी आयोजनाबाट २२८ मेगावाट मात्र बिजुली उत्पादन हुने उल्लेख गरेको छ ।
माथिल्लो तामाकोसीलगायत अन्य आयोजना सम्पन्न भइ १ हजार ६४७ मेगावाट बिजुली उत्पादन हुने बजेटमा उल्लेख छ । यता माथिल्लो तामाकोसी आयोजनाले आउँदो भदौसम्म ६ वटै युनिट सञ्चालन गरेर ४५६ मेगावाट बिजुली उत्पादन हुने बताइरहेको छ ।
आयोजनाले भदौभित्र सबै युनिट सञ्चालनमा आउने बताइरहेका बेला सरकारले बजेटमा २२८ मेगावाट मात्र बिजुली उत्पादन गर्ने लक्ष्य किन राख्यो ? नेपाल विद्युत प्राधिकरण वा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय गलत विवरण कसले दियो ?

विकासकर्ता अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपाने भदौभित्र ६ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट बिजुली उत्पादन हुने बताउँछन । उनले असारभित्र २ वटा युनिटबाट १५२ मेगावाट बिजुली उत्पादन हुने र त्यसपछि क्रमशः भदौभित्र सबै युनिट सञ्चालनमा आउने स्पष्ट पारेका छन ।
यता ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवत्ता मधुप्रसाद भेटुवालले गल्ति विवरण गएको हुन सक्ने बताउँछन । क्यापिटल नेपालसँग कुरा गर्दै आयोजनाबाट ४५६ मेगावाट बिजुली उत्पादन हुने जानकारी दिए । परीक्षण गर्न समय लाग्ने भएकाले यस्तो राखिएको हुन सक्ने उनको तर्क छ ।
सरकारले बजेटमा माथिल्लो तामाकोसीबाट २२८ मेगावाटसहित आगामी आर्थिक वर्षमा १ हजार ६२९ मेगावाट बिजुली थप गर्ने लक्ष्य लिएको छ । आगामी वर्ष जडित क्षमता ३ हजार मेगावाट पुर्याउने बजेटमा उल्लेख छ ।
आयोजनाको दुइटा युनिटको अहिले उत्पादन परीक्षण भइरहेको न्यौपानेले सुनाए । सुरुङमा जम्मा गरिएको पानीबाट अहिले परीक्षण उत्पादन भइरहेको उनको भनाइ छ ।
यो महिनाभित्र परीक्षण र समस्यामा मर्मत गरेर असारको पहिलो सातासम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयार भएको न्यौपानेको भनाइ छ ।
जेठको दोस्रो साताभित्र पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा परीक्षणका क्रममा पेनस्टक पाइपको जोर्नी (म्यानहोल) बाट पानी चुहिएपछि मर्मत गरी परीक्षण भइरहेको छ ।
पेनस्टक पाइपको जोर्नीमा देखिएको पानी चुहिने समस्या हल भएको छ । ४५६ मेगावाटको आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने छ । निर्माण सकिएको यो हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।