काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर घट्दै गएको छ । गत बैशाखमा औसत ब्याजदर १२.२३ प्रतिशतमा झर्यो । गत चैतमा औसत ब्याजदर १२.२८ प्रतिशत थियो ।
यस्तै निक्षेपको औसत ब्याजदर ६.६७ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६१ र १२.३२ प्रतिशत रहेका थिए ।
आधार दर (वेसरेट) घटेपछि कर्जाको ब्याजदरमा कमी आएको हो । बैशाखमा आधारदर घटेर ९.५९ प्रतिशतमा झरेको छ । गत चैतमा ९.६५ प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा १०.३२ प्रतिशत थियो ।
निक्षेप लागत, अनिवार्य नगद अनुपात, वैधानिक तलरता अनुपात र प्रशासनिक खर्च जोडर आधार दर तय हुन्छ । पछिल्लो समयमा निक्षेप लागतमा पनि कमी आएको छ ।
यद्यपी अन्तर बैङ्क कारोबारसंग ब्याजदर भने उकालो लागेको छ । गत बैशाखसम्म अन्तर बैङ्क ब्याजदर बढेर ६.१२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४.५३ प्रतिशत थियो । गत चैतमा ५.२८ प्रतिशत थियो । अन्तर बैङ्क ब्याजदर घटाउन केन्द्रीय बैङ्कले बजारमा पैसा पठाउँदै आएको छ ।
गत वर्ष ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ५.१५ प्रतिशत रहेकोमा गत बैशाखमा घटेर ४.२९ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा यी दरहरु क्रमशः ६.६१ र १२.३२ प्रतिशत रहेका थिए ।
चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले १३ खर्ब ३८ अर्ब ९५ करोड र अन्य वित्तीय संस्थाहरुले २ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ अन्तर–बैंक कारोबार गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः ९ खर्ब ७२ अर्ब ३३ करोड र ३४ अर्ब ५१ करोड रुपैयाँ कारोबार गरेका थिए ।
गत बैशाखसम्म बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन बढेर ३१ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कर्जा लगानी २८ खर्ब ५० अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निक्षेप १९.८ र कर्जा प्रवाह २१.५ प्रतिशत बढेको छ ।