सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटको आकार चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै ३ अर्ब रुपैयाँले बढी हो ।
आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेका थिए । बजेटमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कर्णालीको बजेटमा पुँजीगतमा ५९, चालुमा ३१ र वित्तीय हस्तान्तरणमा १० प्रतिशत बजेट विनियोजन गरिएको छ ।बजेटको स्रोतमा सबैभन्दा धेरै रकम चालु आर्थिक वर्षको बाँकी १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवापतको १० अर्ब १४ करोड २१ लाख, राजस्व बाँडफाँटको ७ अर्ब ४४ करोड ७७ लाख, सशर्त अनुदान ३ अर्ब ९८ करोड ७७ लाख, समपूरक अनुदान ८१ करोड ३५ लाख र विशेष अनुदान ६१ करोड ३० लाख रुपैयाँ प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ । आगामी आर्थिक वर्ष आन्तरिक राजस्वबाट ६० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
बजेटमा स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ । कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश अस्पताल सुर्खेतलाई ५०० शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ ।
प्रदेशका सबै जिल्लामा मिनी अक्सिजन प्लान्ट सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ । कर्णालीको स्वास्थ्य सेवा सुदृढीकरणका लागि २ अर्ब ६१ करोड बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने जनाएको छ । ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ मार्फत वार्षिक एक जना उत्कृष्ट कृषकलाई सुनको हलो अंकित तक्माले दिइने भएको छ ।