काठमाडौं। विगत दुई वर्ष यता राष्ट्रिय प्रसारण प्रणालीमा १२६.८८ मेगावाट विद्युत् थप भएको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा उक्त मेगावाट विद्युत् थप भएको हो। गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय प्रसारण प्रणालीमा ५६१ मेगावाट विद्युत् थप भएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४३४.१२ मेगावाट विद्युत् थप भएको थियो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा थप मेगावाट विद्युत् क्षमताबाट २५ आयोजना सञ्चालनमा आएका छन्। योसँगै नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता चार हजार चार सय मेगावाट पुगेको छ।
आर्थिक वर्ष ०८१/८२ मा थप मेगावाटबाट २२ परियोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेका थिए। गत आवमा भने सञ्चालनमा आउने आयोजनाको संख्या र क्षमता धेरै छ । यद्यपि, गत आवको बजेटमा ९.४२ मेगावाट विद्युत् थप हुने अपेक्षा गरिएको थियो। लक्ष्यको ५९.५५ प्रतिशत विद्युत् मात्रै प्रणालीमा थपिएको छ।
सरकारले चालू आर्थिक वर्ष २०८३/८४ मा भने एक हजार ४० मेगावाट विद्युत् थप गर्ने लक्ष्य लिएको छ। तर, निर्माणाधीन अवस्थामा रहेको परियोजनाको प्रगति विवरण हेर्दा ६ सय मेगावाट विद्युत् प्रणालीमा थपिने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
बजेटमा नयाँ आर्थिक वर्षमा १,०४० मेगावाट विद्युत् थप हुने भनिए पनि निर्माणाधीन आयोजनाहरूको प्रगति हेर्दा ६ सय मेगावाट हाराहारीमा विद्युत् थपिने देखिन्छ।
गत आवमा सञ्चालनमा आउने सबैभन्दा ठूलो आयोजना एक सय दुई मेगावाटको मध्य भोटेकोशी हो।
प्राधिरकणका प्रवक्ता राजन ढकालले गत आवमा थप भएको विद्युत् सन्तोषजनक नै भएको बताए। ‘सरकारले नौ सय ४२ मेगावाटको लक्ष्य लिएको थियो। त्यसमा ६० प्रतिशत हाराहारीमा लक्ष्य प्राप्ति भएको देखिन्छ। बाढी पहिरोलगायतका कारण आयोजनाहरूको निर्माण अवधि लम्बिरहेको अवस्थामा यो प्रगतिलाई हामीले सन्तोषजनक रूपमा लिएका छौँ,’ उनले भने, ‘बाँकी भएका आयोजना पनि अबको एक/दुई महिनामा सञ्चालनमा आउँछन्।’
यस्तै, उनले नयाँ आर्थिक वर्षमा पनि औसतभन्दा धेरै विद्युत् थपिने बताए। ‘यो वर्ष सरकारले १,०४० मेगावाट विद्युत् थप गर्ने लक्ष्य लिएको छ। त्यसमा सात/आठ सय मेगावाट विद्युत् थप हुन्छ भन्ने छ,’ उनले भने।
गत आवमा सञ्चालनमा आउने सबैभन्दा ठूलो आयोजना एक सय दुई मेगावाटको मध्य भोटेकोशी हो। सिन्धुपाल्चोकस्थित उक्त आयोजना नेपाल विद्युत् कम्पनीले बनाएको परियोजनाले २० असोजदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो।
दोस्रो ठूलो आयोजना भने ८२ मेगावाटको तल्लो सोलु खोला रहेको छ। सोलुखुम्बुस्थित उक्त आयोजना २४ साउनमा सञ्चालनमा आएको थियो। तेस्रो ठूलो आयोजना भने ४८.५ मेगावाटको माथिल्लो राहुघाट आयोजना छ, म्याग्दीस्थित उक्त आयोजना कात्तिक ७ गते सञ्चालनमाआएको थियो।