लमजुङ । लमजुङ बेंसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पशुपालन तथा उत्पादनका क्षेत्रमा जोड दिँदै ७२ करोड ६५ लाख ४१ हजार रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभामा उपप्रमुख लक्ष्मीदेवी अधिकारीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै कोरोना रोकथाम, नियन्त्रणलाई प्रथामिकता दिँदै चालू वर्षका भएका प्रगति र आगामी वर्ष लिइने नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
साे सार्वजनिक गरिएको बजेटमध्ये चालूतर्फ ४० करोड ३३ लाख ४५ हजार (५.५२ प्रतिशत) र पुँजीगततर्फ ३२ करोड ३१ लाख ९६ हजार (४४.४८ प्रतिशत) बजेट रहेको छ ।
त्यस्तै बजेटको खर्च व्यहोर्ने स्रोतमा आन्तरिक स्रोत/राजश्वबाट ४ करोड ८१ लाख ४५ हजार रूपैयाँ, सङ्घीय र प्रदेश राजश्व बाँडफाँटबाट १० करोड ४१ लाख ७३ हजार रूपैयाँ, सङ्घीय र प्रदेश समानीकरण अनुदानबाट १५ करोड ९६ लाख २३ हजार रूपैयाँ, सङ्घीय र प्रदेश सशर्त, समपूरक र विशेष अनुदानबाट ३६ करोड ४६ लाख रूपैयाँ तथा चालू आवको असार मसान्तसम्म खर्च भई बाँकी रहने नगद मौज्दातबाट अनुमानित ५ करोड रहेको छ ।
नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभाका सभासद्हरुको राय, सुझाव र परामर्शलाई मध्यनजर गर्दै आगामी वर्षका लागि योजनागत रुपमा बजेट निर्माण गरिने नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।
विषयगत रुपमा सबैभन्दा बढी सामाजिक विकासतर्फ ४१.८५, भौतिक पूर्वाधार विकासमा २५.५५, संस्थागत विकास तथा सैवा प्रवाहमा १६.१४, आर्थिक विकासमा १४.२८ र वातावरण तथा विपद् व्यवस्थापनमा २.१८ प्रतिशत बजेट बाँडफाँट गरिएको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए ।
त्यस्तै नीति, कार्यक्रम तथा बजेटमा चालु वर्षको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो । चालू वर्षमा ६० प्रतिशत वित्तीय प्रगति भएको, ४ सय योजना रहेकामा अधिकांश सम्पन्न भएको तथा बन्दाबन्दीको अवस्थामा पनि नगरपालिकाले प्रभावकारी सेवा प्रवाह गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । रासस