विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि ४ अर्ब १० करोड ३ लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ । महानगरले प्रशासनिक खर्चतर्फ ४६ करोड ७० लाख रुपैया विनियोजन गरेको छ । यस्तै पुँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख रुपैया विनियोजन गरेको छ । प्रशासनिक खर्च ११ प्रतिशत र पुँजीगत खर्च ८९ प्रतिशत छुट्याएको छ ।
महानगरपालिकाकी उपमेयर इन्दिरा काकीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन हुने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् ।
पुँजीगत खर्च मध्ये पुर्वाधार विकास क्षेत्रमा २ अर्ब ४ करोड ३९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख र सुशासन तथा अन्तर सम्बन्धित (वन वातावरण तथा विपत्त व्यवस्थापनसमेत) क्षेत्रमा ९ करोड ३७ लाख रुपैयाँ खर्च गरिने निति तथा बजेटमा उल्लेख छ ।
वीरेन्द्र सभागृहका लागि साढे १९ करोड
विराटगरमा रहेको वीरेन्द्र सभागृहका लागि १९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसको नाममा हरेक बर्ष बजेट विनियोजन हुने गरेको छ । महानगरपालिकाले वडास्तरीय मुख्य आयोजनाका लागि २६ करोड ७८ लाख रुपैया विनियोजन गरेको छ । त्यस्तै नगरस्तरीय गौरवका आयोजनाको प्रशासनिक भवन निर्माणका लागि १७ करोड ३८ लाख विनियोजन गरेको छ ।
त्यसैगरी ल्याण्डफिल्ड साईट जग्गा खरिदका लागि १० करोड, अन्तर्राष्ट्रिय सभाहल जग्गा खरिदका लागि ५ करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड, ४ वटा फलाइओवर गेटका लागि २ करोड ४५ लाख, विराट राजाको दरवार निर्माणका लागि ५ करोड, हिमालय रोडका ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, प्रधामन्त्री पार्क निर्माणका लागि ५ करोड, सन्ध्याकालिन आरती निर्माण २ करोड, अन्य नगरस्तरीय योजनाका लागि ४० करोड १९ लाख रुपैया विनियोजन गरिएको छ ।
शिक्षाको लागि पौने ६ करोड
शिक्षाका लागि ५५ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ । युवा तथा खेलकुदका लागि १ करोड ६१ लाख विनियोजन गरिएको निति तथा बजेटमा उल्लेख छ । क्रमागत योजना भुक्तानीका लागि २५ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापन तथा महामारी नियन्त्रणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये अन्तर सरकारी वित्तिय हस्तान्तरणतर्फ संघिय सरकारतर्फ १ अर्ब १९ करोड ५३ लाख र प्रदेश सरकारतर्फ ४ करोड ९० लाख १५ हजार, राजस्व बाँडफाँड १ अर्ब १ करोड ४७ लाख, आन्तरिक आय ८३ करोड ९ लाख, अन्य अनुदान ऋण ७० करोड ५५ लाख, अन्य संघ संस्था १ करोड ४४ लाख तथा जनसहभागिता १० करोड र मौज्दात सहित ४ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको नीति तथा बजेट कार्यक्रममा उल्लेख गरिएको छ ।