काठमाडौं । चन्द्रागिरि नगरपालिकाले २ अर्ब ४४ करोड २३ लाख ६४ हजार ३ सय ६२ रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ । चन्द्रागिरि नगरपालिकाको आज सम्पन्न सातौं नगरसभामा नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त नीति, कार्यक्रम तथा बजेट नगरसभामा पेश गरे ।
चन्द्रागिरीले आव २०७८/७९ मा अनुमानित बैँक मौज्दात र नगरपालिकाको राजश्वबाट १ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ र सङ्घीय सरकार वित्तीय हस्तान्तरणबाट ६८ करोड ३१ लाख २६ हजार रुपैयाँ, प्रदेश सरकारबाट ९ करोड ७ लाख ८ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्तावापत १८ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ४४ करोड २३ लाख ६४ हजार ३ सय ६२ रुपैयाँ आय हुने जनाएको छ ।
यस्तै, व्ययको चालूतर्फ ६५ करोड ६० लाख ७१ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्व १८ करोड ८५ लाख ७० हजार, नेपाल सरकारको तर्फबाट शशर्त अनुदान ३४ करोड ७९ लाख रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदान ६ करोड ९८ लाख २३ हजार र सामाजिक सुरक्षातर्फ १८ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ४४ करोड २३ लाख ६४ हजार ३ सय ६२ खर्च हुने रुपैयाँ जनाएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि चन्द्रागिरिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी आवको बजेटले कोरोनाको सम्भावित नयाँ भेरियन्ट, खोप र अस्पतालमा अक्सिजन प्लान्ट निर्माणलाई प्राथमिकता दिने बताए।
नगरपालिकाका प्रमुख घनश्याम गिरिले ‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’को नारालाई पूरा गर्नका लागि आफूहरूले आगामी आवमा नीति, कार्यक्रम र वजेटलाई प्राथमिकतामा राख्ने बताए।
स्वास्थ्यबाहेक बजेटमा शिक्षा र नगरपालिकाभित्र हुने सम्भावित विपद्का घटनालाई प्राथमिकतामा राखेर बजेट सिलिङ निर्माण गरिने नगरप्रमुख गिरिको भनाइ छ । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा छन् । रासस