विराटनगर । मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख ढाका कुमारी पराजुलीले १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेट चालू आवको संशोधित बजेटको तुलनामा आगामी आवका लागि २१ करोड ५८ लाख ५७ हजार ४ सय ९३ अर्थात १८ दशमलव ९९ प्रतिशतले बढी हो ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रतावित बजेट प्राप्तिका स्रोतहरुमा कर, दस्तुर, शुल्क तथा राजस्वबाट प्राप्त हुने आन्तरिक आय १३ करोड ९० लाख ५० हजार अनुमान गरिएको छ ।
संघीय सरकारबाट १ अर्ब ५७ लाख ४६ हजार, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रममार्फत १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड बराबरको ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
प्रस्तुत कुल बजेटको विनियोजन प्रशासनिक खर्च र चालु कार्यक्रम ८७ करोड ६ लाख ९० हजार र पुँजीगत खर्चतर्फ ४८ करोड ४३ लाख ५६ हजार विनियोजन गरिएको छ ।
सामाजिक विकास कार्यक्रम तर्फ ६२ करोड ४१ लख ६६ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकास कार्यक्रमतर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन वातावरण र विपद् व्यबस्थापनतर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरिएको छ ।
चालू आवको जेष्ठ मसान्तसम्मको वजेट खर्च चालूतर्फ ६७ प्रतिशत र पुँजीगततर्फ ३४ प्रतिशत गरी कुल बजेटको ५२ प्रतिशत खर्च भएको उपमेयर पराजुलीले बताइन् ।
लेटाङ नगरपालिकाको बजेट ९० करोड ८६ लाख
मोरङको लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोड ८६ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख कृष्णकुमारी निरौलाले ९० करोड ८६ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत कुल बजेटबाट पूर्वाधार विकासमा ४५ करोड ७० लाख ७० हजार, सामाजिक विकासमा २८ करोड ४३ लाख, १२ हजार, आर्थिक विकासमा २ करोड ८६ लाख, सुशासन क्षेत्रमा २ करोड ८९ लाख ९५ हजार विनियोजन गरिएको छ ।
बूढीगंगा गाउँपालिकाको बजेट ५६ करोड ३२ लाख
मोरङको बूढीगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ३२ लाख १९ हजार ४८० रुपैयाँको आयको अनुमान प्रस्तुत गरेको छ ।
पालिकाले प्रस्तुत गरेको आन्तरिक आम्दानीमा ५ करोड, मालपोट रजिष्टेसन २ करोड, संघीय सरकार समानीकरण अनुदान १४ करोड ५९ लाख, ससर्त अनुदान चालूतर्फ १९ करोड ८७ लाख हुने अनुमान गरेको छ ।
त्यस्तै समपूरक अनुदानमा ४३ लाख, सशर्त अनुदान पुँजीगततर्फ ४ करोड १३ लाख, राजस्व बाँडफाँडमा ७ करोड ७६ लाख ८१ हजार प्रदेश सरकारको समानिकरण अनुदान ८५ लाख ९७ हजार रहेको गाउँपालिकाले जनाएको छ ।
सशर्त अनुदानमा १९ लाख ४३ हजार, समपूरक अनुदान १ करोड र राजस्व बाँडफाँटबाट ४७ लाख ९८ हजार ४८० आय हुने अनुमान पालिकाको छ ।