विराटनगर । विराटनगरमा आयोजना गरिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको विवरणसहितको प्रतिवेदन प्रदेश १ को प्रदेश सभामा पेश भएको छ ।
संसद्को सार्वजनिक लेखा समितिका सभापति शिवनारायणसिंह गन्गाईले बिहीबारको प्रदेश सभा बैठकमा प्रतियोगितामा आर्थिक अनियमितता भएको निश्कर्ष सहितको समितिको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतियोगितामा अनियमितता भएको आन्तरिक लेखा परीक्षणको प्रतिवेदनले औँल्याएको सदन समक्ष जानकारी गराउँदै गन्गाईले बेरुजु असुल उपर गर्न सामाजिक विकास समितिलाई निर्देशन दिइएको जानकारी दिए ।
फुटबल प्रतियोगिता २०७६ असार १६ गतेदेखि शुरु गरेर असार ३१ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्रालयले १ करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३३ लाख रुपैयाँ बजेट दिएका थिए ।
मध्य असारमा बजेट सिध्याउनका लागि मात्र प्रतियोगिता गरिएको भन्दै आलोचना, विरोध र प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि लेखा समितिले छानबिन सुरु गरेको थियो ।
प्रतियोगिताअन्तर्गतका विभिन्न खेल धरान, उदयपुर र इलाममा भएका थिए । यसको उपाधि झापाको सैनिक युथ क्लबले जितेको थियो । विजयी टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार, नगद तथा सिल्ड वितरण गरेका थिए ।
समितिले आर्थिक गतिविधि नियम, कानुनसम्मत सञ्चालन भए÷नभएको सार्वजनिक लेखा समितिको विवरण समयमा उपलबध गराउन, महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुज फछ्र्योट गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।
समितिमा परेका उजुरीको सम्बोधन गर्ने, सार्वजनिक सम्पत्ति हिनामिना भए नभएको अनुगमन गर्ने र मलेपले आर्थिक अनुशासनको सवालमा दिएको विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।