काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि दुई हप्ताभित्र बन्चरेडाँडा उपलब्ध गराउने बताएको छ ।
सहरी विकास तथा भवन विभागका उप–महानिर्देशक एवं बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका प्रमुख कुमार घिमिरेले महानगरले फोहोर फाल्न चाहेमा दुई हप्तासम्ममा बन्चरेडाँडा उपलब्ध गराउने बताएका हुन् ।
मन्त्रालयले पूर्वनिर्धारित समयमा फोहोर व्यवस्थापनका लागि महानगरलाई बन्चरेडाँडा उपलब्ध गराउन नसक्दा विगत एक हप्तादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन । जसको कारण उपत्यकाको वातावरण प्रदूषित भएको छ ।
सन् २००५ देखि जापानी सहयोग निकाय (जाईका)को सहयोगमा उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन भइरहेको छ । तर, सिसडोलको उक्त ल्याण्डफिल्ड साइटमा ३ वर्षसम्म मात्रै फोहोर फाल्न सकिने भए पनि अहिलेसम्म त्यही ठाउँमा फोहोर व्यवस्थापन भइरहेको छ ।
पछिल्लो सो ठाउँ फोहोरले भरिएकाले प्रत्येक वर्ष वर्षाद्को समयमा महानगरको फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ । सो समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले गत जेठसम्ममा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट महानगरलाई उपलब्ध गराउने बताएको थियो ।
तर, कोरोनाको कारण सरकारले गरेको निषेधाज्ञाको कारण निर्माण कार्यमा समस्या भएर तोकिएको समयमा बन्चरेडाँडा उपलब्ध गराउन नसकेको मन्त्रालयले स्वीकार गरिसकेको छ ।
सहरी विकास तथा भवन विभागका उप–महानिर्देशक एवं बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका प्रमुख घिमिरे भन्छन्, ‘आइतबार भएको छलफलमा, पूर्णरुपमा काम सम्पन्न गर्नुस्, हामी दुई महिना पर्खिन्छौं, अहिले सिसडोलमा नै व्यवस्थापन गछौं भन्ने कुरा महानगरले गरेको हो । तर, महानगरले फोहोर फाल्न चाहेमा दुई हप्ताभित्र दिन सक्छौं । यद्यपि पूरै काम सकिन भने ३/४ महिना लाग्छ ।’
तर, महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ मन्त्रालयको उक्त कुरा विश्वास गर्न तयार छैनन् । ‘मन्त्रालयसँग आइतबार छलफल गर्दा दुई महिना अगाडि उपलब्ध गराउन सक्दैनौं भनेको हो । ठेक्केदारले नै कम्तीमा दुई महिना लाग्छ भनेकाले वर्षाद् सकिने बेलामा बन्चरेडाँडा उपलब्ध गराएर समस्या समाधान हुँदैन भनेर हामीले निष्कर्ष ननिकाली फर्किएका हौं ।’
क्यापिटल नेपालसँग कुरा गर्दै प्रमुख श्रेष्ठ भने, ‘फोहोर व्यवस्थापन गर्न महानगरलाई समस्या भइरहेकाले मन्त्रालयले ठाउँ उपलब्ध गराएमा एक÷दुई हप्ता कहिले भन्छ हामी तयार छौं । तर, वर्षाद् सकिएपछि वा महिनौं पर्खिन सकिँदैन ।’
उनका अनुसार, मन्त्रालयले दुई महिनामा पनि बन्चरेडाँडा उपलब्ध गराउन नसक्ने देखिएपछि सोमबार राति नै ‘भ्याली टू’ अन्तर्गत नुवाकोट कै सिसडोलमा पर्खाल लगाएर अस्थायी रुपमा फोहोर व्यवस्थापनको सुरु भएको छ । सोमबार करिब साढे दुई सय गाडीमा फोहोर सिसडोल पुर्याएको महानगरले जनाएको छ । अब दैनिक रुपमा सोही दरमा फोहोर व्यवस्थापन हुने बताइएको छ ।
फोहोर व्यवस्थापनका लागि करिब ४४ करोडमा ठेक्का सम्झौता भएको बन्चरेडाँडाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । घिमिरेका अनुसार बञ्चरे डाँडामा दुईवटा ठेक्कामध्ये निर्माणाधीन क्षेत्र भने करिब ४४ करोडमा ठेक्का लागेको हो ।
त्यस्तै अर्को ठेक्का भने एक वर्षपछि सम्झौता भएको र त्यसको पनि निर्माण कार्य सञ्चालन भइरहेको छ । उक्त ठाउँमा २० हजार वर्ग मिटरमा दुईवटा पोखरी निर्माण भइरहेका छन् ।
बन्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि दुईवटा पोखरी निर्माण गरिएकोमा एउटा गत जेठमा नै निर्माण सम्पन्न भएको छ । जसलाई फोहोर फाल्नका लागि प्रयोग गरिने घिमिरले बताए । तर, फोहोरबाट निस्किएको ‘लिचेड’का लागि भने पोखरी निर्माणाधीन रहेकाले केही ढिलाइ भएको उनको भनाइ छ ।
याे पनि पढ्नुहाेस्