काठमाडौं । सरकारले आगामी माघसम्म सबै नेपालीलाई पुग्ने गरी कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएको छ । आउँदो माघसम्म ५ करोड २२ लाख ८२ हजार डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
उनका अनुसार हालसम्म कोरोना भाइरसविरुद्धको ९७ लाख ८२ हजार डोज खोप नेपाल भित्रिएको छ । त्यस्तै असोजसम्म १ करोड २ लाख डोज खोप प्राप्त हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
बालबालिकाका लागि भने माघसम्ममा खोप प्राप्त हुने उनको भनाइ छ । पुसदेखि माघसम्म ३ करोड २३ लाख डोज खोप नेपाल भित्रिने मन्त्री श्रेष्ठले बताए । जसमध्ये अमेरिकाबाट सरकारले खरिद गर्ने ६० लाख डोज १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको लागि रहनेछ ।
हालसम्म भारतको अनुदामा प्राप्त ११ लाख डोजमध्ये १ लाख डोज भने नेपानी सेनाको लागि रहेको थियो । थप १० लाख डोज खोप सरकारले भारतबाट खरिद गर्ने भएको छ ।
त्यस्तै चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । गाभीबाट ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप पनि नेपाललाई अनुदानमा आएको थियो ।
अमेरिकाले १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन कम्पनीको खोप अनुदानमा दिएको छ । सरकारले चीनबाट ४० लाख डोज भेराेसेल खोप खरिद गर्न लागेको छ ।
यस्तै असोजसम्ममा जापानबाट १६ लाख डोज अष्ट्राजेनिका खोप अनुदानमा नेपाल आउने छ भने, चीनले फेरि १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिन लागेको छ । त्यस्तै ६० लाख डोज भेरोसेल खोप साइनोफार्म र चीनबाट नेपालले खरिद गर्न लागेको छ । असोजमा भारतबाट १० लाख डोज कोभिशिल्ड खोप खरिद गर्ने मन्त्रालयले जनाएको छ ।
सरकारले पुस–माघसम्ममा ४० लाख डोज मोर्डना खोप अमेरिकाबाट ल्याउने बताएको छ । जसको भुक्तानीसमेत डब्लूबीमार्फत भइसकेको छ । माघसम्ममा १ करोड १० लाख डोज अमेरिकाबाट आउने खोप लागत सहभागिताको प्रक्रियाबाट आउनेछ । माघमा १ करोड १३ लाख डोज कोभ्याक्स र गाभीले नेपाललाई अनुदानमा दिन लागेको मन्त्रालयले जनाएको छ ।
एकतिहाइ नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धतालाई साकार बनाउने राज्यमन्त्री श्रेष्ठले बताए ।
जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोन्सन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २० लाख गरी कुल १ करोड ५० लाख मात्रा खरिद सम्झौता भइसकेको राज्यमन्त्री श्रेष्ठले बताए ।
निकट भविष्यमा आउन सक्ने कोभिड–१९ को तेस्रो लहरको सामना गर्न समयतालिका सहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिने उनले जानकारी गराए ।
