विराटनगर । मोरङ जिल्लामा साना तथा सझौला उद्योग दर्ता हुनेक्रम बढेको छ । कोरोना महामारीको समयमा पनि उद्योग दर्ता हुनेक्रम उलेख्य वृद्धि भएको हो । गत आर्थिक बर्ष ०७७/०७८ मा २ हजार ९२९ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । यो आर्थिक बर्ष ०७६/०७७ को तुलनामा दोब्बर भन्दा बढी हो ।
अघिल्लो आर्थिक बर्ष ०७६/०७७ मा १ हजार ३१७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी रमेशकुमार घिमिरेले जानकारी दिए । जसमा उत्पादनमूलक २७९ उद्योग दर्ता भएका थिए । कृषि तथा वनजन्य ६६४ उद्योग दर्ता भएका थिए । ३०४ वटा सेवा मूलक उद्योग दर्ता भएका थिए ।
आर्थिक बर्ष ०७५/०७६ मा जिल्लामा १ हजार ३४७ उद्योग दर्ता भएका थिए । ३५१ वटा उत्पादनमूलक, कृषि तथा वनजन्य ५०४ वटा उद्योग दर्ता भएका थिए । यसबीचमा ४७१ वटा सेवामूलक उद्योग दर्ता भएका थिए ।
तीन बर्षको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै गत आर्थिक बर्षमा उद्योग दर्ता भएका छन् । जुन समय कोरोना महामारीको समय हो ।
कार्यालयका अनुसार गत आव ०७७/०७८ मा १ हजार ८०३ वटा कृषि तथा वनजन्य र ४ हजार ४४६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । ६३० वटा उत्पादनमूलक उद्योग थपिएका छन् ।
बैंकहरुले कृषि क्षेत्रलाई कम ब्याजदरमा ऋण दिने व्यवस्था र वैदेशिक रोजगारीमा गएका युवाहरु स्वदेश फर्केर आफ्नै ठाउँमा काम गर्ने उद्धेश्यले कृषि क्षेत्रमा लगानी गर्ने कारणले पनि उद्योग दर्ता हुनेक्रम बढेको सूचना अधिकारी घिमिरेको भनाई छ ।
‘कोरोना महामारीको समयमा धेरै उद्योग दर्ता हुनुको कारण कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढ्नु र महिलाहरु पनि आत्मनिर्भर बन्न खोज्नु नै हो’, उनले भने । जिल्लामा महिला उद्यमीको संख्या बढ्दो रहेको पनि घिमिरेले जानकारी दिए ।
दर्ता भएका उद्योगमा आधाको हाराहारीमा महिला रहेको कार्यालयले जनाएको छ । होटल, कृषि फार्म लगायत साना तथा घरेलु उद्योगमा महिला बढी मात्रामा सक्रिय छन् ।
जिल्लामा नयाँ दर्ता भएर सञ्चालन भएका घरेलु तथा साना उद्योगमा मात्र ९ अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले जनाएको छ । यी उद्योगमा १३ हजार बढीले रोजगारी पाएका छन् ।
चालु आर्थिक बर्षको सुरुवातमा पनि उद्योग दर्ता हुनेक्रम एकदमै बढेको कार्यालयले जनाएको छ । दैनिक ५ देखि १० वटासम्म नयाँ दर्ता हुने गरेको सूचना अधिकारी घिमिरेले बताए ।