काठमाडौं । सार्क चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टीमा आबद्ध व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवलाई तत्कालै सार्कको मिनिस्टर काउन्सिलको बैंठक आह्वानका लागि अनुरोध गरेका छन् ।
सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्टिर्जका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी मिनिस्टर काउन्सिलको बैंठक आह्वान गरी सार्क चेम्बर अफ कमर्सको नवीकरणका लागि एजेण्डा लैजानसमेत अनुरोध गरेका हुन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) सचिवालयले दक्षिण एसियाली मुलुकका उद्योगी व्यापारीहरूको संगठित संस्था सार्क चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्टी खारेज गरेको थियो । सार्क सचिवालय काठमाडौंले सार्ककको गाइडलाइन र संस्था नवीकरण प्रक्रियासम्बन्धी प्रावधानअनुसार सार्क चेम्बर अफ कमर्सलाई खारेज गरेको हो ।
सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्टिजका उपाध्यक्ष ढकालले विगत चार वर्षदेखि मिनिस्टर काउन्सीलको बैंठक बस्न नसकेको कारण नवीकरण हुन नसकेकाले तत्कालै बैंठक आह्वानका लागि समेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । नवीकरणका लागि अध्यक्ष राष्ट्रको हैसियतले नेपालले एजेण्डा लैजानुपर्ने र ८ वटै मुलुकका मिनिस्टर काउन्सिलको सहभागितामा निर्णय हुनुपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरी सार्क चेम्बरको नविकरण गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।
अध्यक्ष गोल्छाले सार्क चेम्बरले धेरै राम्रा गतिविधिहरू गरिरहेको बेला नवीकरण नै रोकिएर खारेजीको अवस्थामा पुगेकाले यस विषयमा प्रधानमन्त्री देउवाले महत्वपूर्ण भूमिका निर्वाह गरेर चलायमान बनाउने अपेक्षा आफूहरूको रहेको बताए ।
भारत र पाकिस्थानबीचको द्वन्द्वको कारण समस्या परिरहेको बेला त्यसको फाइदा नेपालले राम्रोसँग लिने सक्ने र सार्क चेम्बरको भूमिका महत्वपूर्ण रहने उनले बताए । नेपाल विगत सात वर्षदेखि सार्कको अध्यक्ष राष्ट्रको रुपमा रहदै आएको छ । तथापी, सार्क पछिल्लो समय निस्क्रिय रहेको छ ।
प्रधानमन्त्री देउवाले सार्कको बैंठक आह्वानका लागि आफू तयार रहेको बताएका छन् । परारष्ट्र मन्त्रीको नियुक्ति लगत्तै यस विषयमा छलफल अगाडि बढाउने र मिनिस्टर काउन्सीलको बैंठक पनि राख्ने बताए ।
यसअघि सार्क चेम्बर अफ कमर्सले फुड बैंक, हेल्थ बैंकको स्थापना गरेको थियो । तर,अहिलेको कोरोना भाइरसको महामारीको बेला भने निष्क्रिय देखिएको छ ।
सार्क चेम्बरसँगै साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्स (साफा), साउथ एसियन फाउन्डेसन (साफ), साउथ एसियन राइटरर्स एण्ड लिट्रेचर, साउथ एसियन इनिसियटिभ टु इन्ट भ्वाइलेन्स अगेन्ट चिल्ड्रेनलगायत संस्थाहरू सार्क एपेक्स बडीका रुपमा मान्यता पाएका संस्थाहरू हुन् ।