काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
सरकारले ४ वर्षका लागि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको हो । क्यापिटल नेपालसँग कुरा गर्दै घिसिङले आज बुधबार पत्र बुझेर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदवहाली गर्ने बताए ।
कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सुरुवा गरिएको छ । उनलाई आयोगमा प्राधिकरणका कार्यकारी निर्देशकसरह विशिष्ठ श्रेणीको सेवा सुविधा दिइने भएको छ ।
कुलमान ४ वर्षको अवधि पूरा गरी गत वर्ष भदौ २९ गते प्राधिकरणबाट बिदा भएका थिए । शेरबहादुर देउवा सरकारले उनलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने र शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गरेको थियो । विशिष्ठ श्रेणीको व्यक्तिका लागि आर्थिक दायित्व पर्ने भएकाले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले नियुक्तिका विषयमा सार्वजनिक गरिएको थिएन ।
गत भदौमा कार्यकाल सकिएपछि नागरिकस्तरबाट घिसिङको पुनः नियुक्तिका लागि आग्रह गरिए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई अवकाश दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ऊर्जा क्षेत्रमा चमत्कारिक परिवर्तन गर्ने लक्ष्यका साथ घिसिङलाई जिम्मेवारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
दुरुहपूर्ण अवस्थामा पुगेको प्राधिकरणलाई सबल र सक्षम संस्थाका रुपमा विकास गरेको तथा रुग्ण भएका आयोजनालाई सम्पन्न गरेका कारण घिसिङलाई पुनः नियुक्तिको माग हुँदै आएको थियो ।