काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा दोस्रो पटक जिम्मेबारी सम्हालेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले योजना सफल बनाउन आफ्नो ‘टिम’ बनाउन थालेका छन् ।
बुधबार प्राधिकरणको दोस्रो पटक बागडोर सम्हालेका कुलमानले उपकार्यकारी निर्देशक, निर्देशकहरुको जिम्मेबारीमा फेरवदल गरेका छन् । अघिल्लो कार्यकालमा टिम बनाएर अघि बढेका कारण उनी सफल भएका थिए ।
पदबहाली गरेकै दिनमा घिसिङले ‘राइट म्यान इन राइट प्लेस’लाई प्राथमिकता दिने बताएका थिए । उनले ग्राहक तथा वितरण सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याएका छन् । सिलवालले यसअघि इन्जिनियरिङ सेवा निर्देशनालमा थिए ।
ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई उत्पादन निर्देशनालयको जिम्मेवारी दिइएको छ ।
उत्पादन निर्देशनालयका प्रमुख तथा प्रवक्ता मदन तिमल्सिनालाई सहायक कम्पनी अनुगमन निर्देशनालयको निमित्त प्रमुखमा सरूवा गरिएको छ ।
त्यसैगरी आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुखमा निर्देशनालयमै कार्यरत तारा प्रधानलाई तोकिएको छ । आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुख रहेका उपकार्यकारी निर्देशक रामजी भण्डारीलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा तानिएको छ ।
उपकार्यकारी निर्देशक माधव कोइरालालाई एनईए इन्जिनियरिङ कम्पनीको प्रवन्ध निर्देशक बनाइएको छ । अर्थ निर्देशनायका प्रमुख रहेका उपकार्यकारी निर्देशक रहेका लेखनाथ कोइराला यथावत छन् ।
सामान्य सेवा विभागका निर्देशक बेलप्रसाद शर्मालाई जनसाधन विभागमा लगिएको छ । जनसाधन विभागका सहनिर्देशक विश्वनाथ शर्मालाई समान्य सेवा विभागको प्रमुखका रुपमा तोकिएको छ ।