विराटनगर । प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले ब्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताएकी छिन् । उनले सामाजिक विकास मन्त्रालयले ब्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरे पनि यो प्रदेशको गौरवको योजना भएको बताएकी हुन् ।
सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डिङ तथा बजारीकरणका लागि गठन गरेको ब्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री राईले प्रदेश १ मा रहेको स्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै व्याण्ड भर्सेस ब्राण्ड अबधारणा ल्याइएको बताइन् ।
कानुन अड्चनहरूलाई हटाउँदै अवधारणालाई कार्यान्वयन गर्नुपर्ने मन्त्री राईको भनाइ छ । प्रतिवेदन ग्रहण गर्दै भनिन्े,‘ समृद्धिको ढोका प्रदेश १ सरकारले खोल्यो ।’
प्रदेश सरकारले कोदो उत्पादन हुने स्थानको छनौट गरेर कोदो लगाउन सुरु गर्ने मन्त्री राईको भनाइ छ । गाउँपाखामा रहेको बनमारा उखेलेर अब कोदो रोपीने मन्त्री राईले बताइन् ।
सामाजिक विकास मन्त्री राईले नेपालको उत्पादनलाई छिमेकी देशहरू भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्ने बताइन् । ‘विदेशीहरू नेपाली उत्पादन खोजेर बसेका छन् , हामी दिन सकिरहेका छैनौं’, उनले भनिन्, ‘व्याण्ड भर्सेस ब्राण्ड समाजवादको सुत्रधारसमेत रहेको छ, सयौं योजना यसमा रहेको छ ।’
नेपाली घरेलु मदिराको उत्पादन सुुरु भएपछि यो विश्वमा उत्पादित भन्दा सयौं गुणा राम्रो गुणस्तरको हुने उनको दाबी छ । गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक, प्राविधिक, औद्योगिक क्षेत्र, कानुन विज्ञलगायतको टिम निर्माण गरिने जानकारी मन्त्री राईले दिइन् ।
कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले ब्याण्ड भर्सेस ब्राण्ड बृहत् अवधारणा रहेको बताए । १० जिल्लाका २ सय २९ घरेलु मदिरा उत्पादकहरू, जनप्रतिनिधि लगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको उनको भनाइ छ ।
कार्यदलले ३ महिना लगाएर बनाएको प्रतिवेदन सोमबार प्रदेश १ सरकार सामाजिक विकासमन्त्री उषाकला राईलाई हस्तान्तरण गरेको छ । यो अवधारणा सामाजिक विकासमन्त्री उषाकला राई मन्त्री भएपछि ल्याएकी हुन् । मन्त्रालयको काम भन्दा बाहिरको काम भएको र आफ्नो काम के हो भनेर छुट्याउन नसकेको भन्दै सदनमा नै मन्त्री राईको आलोचना भएको थियो ।
अझै पनि प्रदेश १ सदनमा कोदोको रक्सी ब्रान्डिङ गर्ने भन्दै राईको आलोचना हुने गरेको छ । तर, पनि मन्त्री राईले काम गरेर देखाउने भन्दै ब्याण्ड भर्सेस ब्राण्ड अवधारणालाई अगाडि बढाइरहेकी छिन् ।