पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले भर्चुअल माध्यमबाट तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीको समयमा भिडभाड नगरी प्रविधिको प्रयोगबाट ‘तीज र महिला सशक्तीकरण विषयक’ अन्तरक्रिया र सदस्यहरूको प्रतिभा प्रष्फुटन कार्यक्रम गरेर तीज पर्व मनाएको हो ।
कार्यक्रका प्रमुख वक्ता नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य नायव महाप्रबन्धक एवम् लैङ्गिक विश्लेषक आरती चटौटले ‘तीज र महिला सशक्तीकरण’ विषयमा प्रस्तुतीकरण राख्दै बदलिँदो परिवेशमा तीजको महत्वलाई आत्मसात गर्दै धर्म संस्कार प्रथा र परम्राका रूपमा महिला माथि हुँदै आएका विभेदविरुद्ध सशक्त आवाजको खाँचो रहेको बताए ।
सामाजिक रूपान्तरण र न्यायका लागि परापूर्वकालदेखि हुँदै आएका गलत अभ्यासलाई बदलेर सुसभ्य र समनतामूलक समाजका लागि महिलाले विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । महिलाको आत्मसम्मानमाथि चोट पुग्ने कुनै पनि पर्वलाई महिलाले उत्साहका रूपमा ग्रहण गर्न नसक्ने जनाउँदै तीज पर्वलाई महिलाले उत्साहको पर्वको रुपमा मनाउन यस भित्र रहेका केही गलत अभ्यास हटाउनुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले महिलाको विशेष पर्वका रूपमा रहेको तीजले सामाजिक आर्थिक राजनीतिक स्वतन्त्रतासहित अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले समुन्नत न्यायिक समाजमा महिला पुरुषको समान सहभागिता र सामाजिक दायित्व रहेको प्रष्ट पारे ।
संस्थाका अध्यक्ष पार्वती पाण्डेले हरेक वर्ष भौतिक उपस्थितमा विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको पर्व तीज कोरोना महामारीका कारणले जमघट र भीडभाड नगरी प्रविधिको प्रयोगबाट मनाएको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सल्लाहकार देवका पहारी, नर्मला कँडेललगायतले वर्तमान अवस्थामा तीज महत्व र पर्यटनले भोग्नु परेका विषयहरूमा आफ्नो धारणाहरू राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा सदस्यहरूका विभिन्न प्रतिभा प्रस्फुटन कार्यक्रम रहेको र उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको संयोजक लक्ष्मी लामिछानेले जानकारी दिए ।