काठमाडाैं। भदौ ३१ गते कर्णाली प्रदेशमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा ५२ वटा भौतिक संरचना र ४५ वटा सवारीसाधनमा आगजनी र तोडफोड भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार आन्दोलनकारीले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूलाई लक्षित गरी क्षति पुर्याएका छन्।
प्रहरीले संकलन गरिरहेको तथ्यांकअनुसार कर्णाली प्रदेशमा कुल ५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। यसमध्ये पाँचवटा संघीय कार्यालय, सातवटा प्रादेशिक कार्यालय, र १७ वटा जिल्ला तथा स्थानीय कार्यालयमा क्षति पुगेको छ। साथै, १२ वटा राजनीतिक दलका कार्यालय, आठवटा व्यक्तिगत तथा निजी घर र तीनवटा अन्य संघसंस्थाका कार्यालयमा पनि आगजनी तथा तोडफोड भएको छ।
प्रहरीका अनुसार सबैभन्दा धेरै क्षति सुर्खेतमा भएको छ। सुर्खेतमा मात्र २६ वटा सरकारी, निजी तथा पार्टी कार्यालयमा क्षति पुर्याइएको छ। त्यसैगरी, जुम्लामा ६ वटा र मुगुमा २ वटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ।
सुर्खेतमा कर्णाली प्रदेशसभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा भवनलगायतका महत्त्वपूर्ण सरकारी संरचनाहरूमा आगजनी र तोडफोड भएको छ। यसका साथै, वीरेन्द्रनगर नगरपालिकाका सबै १२ वटा वडा कार्यालयमा पनि क्षति पुगेको छ।
आन्दोलनका क्रममा कुल ४५ वटा सवारीसाधनमा आगजनी भएको छ। प्रहरीको प्रारम्भिक तथ्याङ्कअनुसार सुर्खेतमा मात्र १९ वटा सरकारी गाडी र १९ वटा मोटरसाइकलमा आगजनी भएको छ। साथै, दुईवटा निजी गाडी र पाँचवटा निजी मोटरसाइकलमा पनि क्षति पुर्याइएको छ। आन्दोलनकारीले एम्बुलेन्स, शववाहन र दमकलमा समेत तोडफोड गरेका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार घिमिरेका अनुसार अन्य जिल्लाहरूमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। उनले आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूको खोजी कार्य पनि सँगसँगै अगाडि बढिरहेको बताएका छन्।