काठमाडौं । निर्माणाधीन जलविद्युत आयोजनाहरुले पनि थप लगानी जुटाउन हकप्रद सेयर निष्कासन गर्न पाउने भएका छन् । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुको सेयर सार्वजनिक निष्कासन सम्बन्धित पूर्वस्वीकृति तथा नियमन निर्देशिका जारी गरी यस्तो व्यवस्था गरेको हो ।
यसअघि ल्याएको जलविद्युत कम्पनीहरुको सार्वजनिक सेयर निष्कासन निर्देशिकालाई खारेज गरी नयाँ ल्याइएको छ । प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेर पनि विभिन्न कारणहरुले लगानीका अभावमा आयोजना सम्पन्न हुन नसक्ने अवस्था आएमा बाँकी काम सम्पन्न गर्न हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले निर्देशिका पारित गरेपछि आइतबार सार्वजनिक गरेको हो । आयोजनाको लागत काबुबाहिरको परिस्थिति आएर आयोजनाको लागत बढ्न गएमा स्वलगानीको भागमा आउने रकमका लागि हकप्रद सेयर निष्कान गर्न पाउने आयोगले जनाएको छ । हकप्रद सेयर निष्कासन गर्नका लागि आयोजनाको भौतिक प्रगति ८० प्रतिशत हुनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
यसैगरी निर्माण सम्पन्न गर्न आवश्यक रहेको पुँजीगत लगानीको सम्बन्धमा स्पष्ट रुपमा वित्तीय एवम तालिकावद्ध कार्ययोजना सञ्चालक समिति तथा वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने व्यवस्था गरिएको छ । जलविद्युत कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न ऋण लगानी गर्ने बैंकबाट सहमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
प्रथम चरणमा संस्थापक सेयरधनीहरुलाई निश्चित समय तोकी हकप्रद सेयर निष्कासन गरेपछि मात्र सर्वसाधारणलाई बिक्री गर्नुपर्ने भएको छ । आयोगले अनुमति दिए पनि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ ।
यस्तै हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले काबुबाहिरको अवस्थाको प्रमाणित कागजात, पुँजीगत लगानी र वित्तीय व्यवस्था विवरण पेश गर्नुपर्ने छ । विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) कम्पनीको शाख निर्धारण (क्रेडिट रेटिङ) र प्रत्याभूतिकर्ता (अण्डरराइटर) हुनुपर्ने छ ।
नयाँ आयोजना बनाउन हकप्रद सेयर
कुनै जलविद्युत कम्पनीले सहायक संस्थामाफर्त नयाँ आयोजना बनाउन पर्यो भने हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । आयोजना प्राप्त कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सोभन्दा बढी सेयर रहने गरी सहायक कम्पनीमार्फत आयोजना बनाउन संस्थागत लगानी गर्न हकप्रद सेयर निष्कासन गर्न पाउने भएको हो ।
अनुमति प्राप्त कम्पनीले निर्माण गरिरहेको वा निर्माणको चरणमा गइरहेको आयोजनामा ५० प्रतिशत भन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने निर्देशिकामा उल्लेख छ ।
हकप्रद सेयर निष्कासन गर्दा आयोजनाको भौतिक प्रगति २५ प्रतिशत भन्दा बढी हुनुपर्ने छ । मुख्य कम्पनीले सहायक कम्पनीको चुक्तापुँजी ५१ प्रतिशत वा सोभन्दा बढी सेयर ग्रहण गरेको हुनुपर्ने छ ।
विद्युत उत्पादन अनुमतिपत्र, विद्युत खरिदबिक्री सम्झौता, वित्तीय व्यवस्थापनका साथै मुख्य कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनुपर्ने भएको छ । हकप्रद २०० प्रतिशतभन्दा बढी निष्कासन गर्न नपाइने व्यवस्था निर्देशिकामा गरिएको छ ।
हकप्रद सेयर निष्कासन गर्दा निश्चित समय तोकी संस्थापकलाई बिक्री गरेपछि सर्वसाधारणलाई निष्कासन गर्न पाइनेछ । हकप्रद सेयर निष्कासन गर्दा अण्डराइटर र कम्पनीको शाख निर्धारण गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।



