विराटनगर । बेमौसमी वर्षाका कारण आएको बाढीले पूर्वका धेरैजसो उद्योगहरुमा क्षति पुर्याएको छ । क्षति पुर्याएका उद्योगमध्ये ४१ वटाको मात्रै २ अर्ब ४७ करोड १८ लाख ९८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
उद्योग संगठन मोरङले आफूमा आबद्ध उद्योगहरुको क्षतिको विवरण सार्वजनिक गर्दै सो विवरण सार्वजनिक गरेको हो । अनलाइन फर्ममार्फत क्षतिको विवरण संकलन गरिएको संगठनका निर्देशक चूडामणि भट्टराईले जानकारी दिए ।
संगठनले आइतबार एक कार्यक्रमको आयोजना गरी औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनअनुसार मेसिन औजारमा ९८ करोड १७ लाख १८ हजार र ७१ करोड २५ लाख ७० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ क्षति भएको छ ।
७६ करोड ४ लाख ४५ हजार रुपैयाँ बराबरको तयारी वस्तु क्षति भएको निर्देशक भट्टराईले बताए । फोहोर सरसफाइ तथा व्यवस्थापनमा १ करोड ७१ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
अझैसम्म धेरै उद्योग सञ्चालनमा आउन सकेका छैनन् । प्रतिवेदनका अनुसार प्रभावित उद्योगहरुमध्ये २७ वटा उद्योग १ हप्तामा सञ्चालनमा आएका थिए भने ७ वटा उद्योगलाई २ हप्ता लागेको थियो । ४ हप्तामा ३ वटा उद्योग सञ्चालनमा आउने र ४ वटा उद्योग सञ्चालनमा आउन ४ साताभन्दा बढी समय लाग्ने प्रतिवेदनमा उल्लेख छ ।
बाढीपश्चात २२ वटा उद्योग सञ्चालनमा आएका छन् भने १९ वटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन् । सबैभन्दा बढी सुनसरीको खनारमा रहेको रिलाइन्स स्पिनिङ मिल्समा क्षति भएको जनाइएको छ । धागोको कच्चा पदार्थ, उत्पादित धागो बाढीले बगाउनुका साथै सबै मेसिनमा पानी पसेको थियो । बाहिरबाट ल्याएको मेसिन बनाउने मान्छे नभएका कारण पनि सञ्चालनमा आउन ६ महिना लाग्ने उद्योगले जनाएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा बन्दै गरेको ६ लेनको सडका कारण पनि सबैजसो कलभर्टहरु भत्किदा उद्योगहरु डुबानमा परेको उद्योगीहरुले बताएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयोश प्याकुरेलले यस वर्षको बेमौसमी पानीले सबैभन्दा धेरै उद्योगमा क्षति पुर्याएको बताए । गत वर्षहरुमा पानी आए पनि उद्योगमा त्यति क्षति नभएको बताउँदै उनले सरकारी संरचना निर्माणले पनि असर गरेको बताए । सडक निर्माणका कारण कल्भर्ट भत्किने र सडकमाथि उद्योग तल भएका कारण पनि धेरैजसो उद्योगहरु डुबानमा परेको उनको भनाइ छ ।
उद्योगमा क्षति भए पनि सरकारले नहेरेको उनको आरोप छ । ‘कर तिर्ने बेलामा सरकारको चासो हुने तर विपत्तिमा मतलब नै छैन’, उनले भने, ‘सडक, नाला, पुलका बारेमा सरोकारवालासँग कुरा गर्दा एकले अर्कोलाई देखाउने गर्दा आफुहरुले कसलाई भन्ने बारेमा निश्चित नभएकाले यसको बारेमा पनि सरकारले ध्यान दिनुपर्नेछ ।’
प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उद्योग क्षेत्रमा क्षति पुग्दा धेरैको रोजगारी गुम्ने र रोजगारी गुमाउँदा सुरक्षामा चुनौती देखिने बताएका छन् । श्रमिकको रुपमा काम गरेर परिवार चलाएकाहरुले काम नभएपछि कसरी बाच्ने भनेर चोरीका कामहरु पनि गर्न सक्ने अवस्था भएका कारण सुरक्षामा चुनौति निम्त्याउने बताए । बाढीका कारण उद्योग धन्दासँगै अन्य क्षेत्रमा पनि असर परेका कारण यो मुद्धा सरकारको भएको उनको भनाई छ । निजी क्षेत्रको समस्या समाधानका लागि उनीहरुको कुरा केन्द्रसम्म पुर्याउने प्रतिबद्धतता पनि दाहालले जनाएका छन् ।