काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले ‘पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्याली’को शुभारम्भ गरेका छन् । बिहीबार पशुपतिनाथ मन्दिरका मूल भट्टको उपस्थितिमा मन्त्री आले र राजदूत क्वात्राले मोटरसाइकल र्याली’को शुभारम्भ गरेका हुन् ।

स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारतले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा सो र्यालीको आयोजना गरेको हो ।

भारत र नेपालका नागरिकबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने र्यालीको उद्देश्य छ । साथै दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि र्यालीले लिएको छ ।

उक्त र्यालीमा करिब ५० भारतीय तथा नेपालीहरु सहभागित भएका छन् । कार्यक्रममा मन्त्री आलेले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धका बारेमा बताएका छन् । साथै मोटरसाइकल र्यालीका सहभागीहरुलाई यात्राको सफलताको शुभकामनासमेत उनले दिएका छन् ।

त्यस्तै राजदूत क्वात्राले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । र्यालीका सहभागीहरुले कात्तिक २७ गते शनिबार वनारसमा रहेको काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाइ एवं स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्ने बताइएको छ ।
यस्तै महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतीहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थलमा र्याली पुग्नेछ ।

