काठमाडौं । मणिपाल अस्पतालको सेयर साझेदारको प्रलोभन देखाई विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आइरहेको एक भारतीय नागरिकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
चेन्नाई तामिलनाडु कोडामबाक्कम भारत घर भई हाल बालुवाटारमा बस्दै आइरहेकोका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई महाशाखाले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।
महाशाखाका अनुसार ती भारतीय नागरिकले नेपालस्थित मणिपाल अस्पताल खरिद गर्ने भारतीय सेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्टसमेत तयार भएको भन्दै झुट्टा कागजात र कुराकानी तयार गरी बिभिन्न व्यक्तिलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको हो ।
ठगीमा परेका व्यक्तिहरुको स्वामित्वमा रहेको जमिनको लालपुर्जासमेत आफ्ने नियन्त्रणमा लिई ठगी गर्ने गरेको, नेपालस्थित बिभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक सेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेको थियो ।
आफूलाई इन्टरनेसनल कमिटी अफ दी रेड क्रस आईसीआरसीको निर्देशक हुँ भनी नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसगँ समेत निकट सम्बन्ध कायम रहेको देखाउने गरेको पाइएको छ ।
बिभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकतामार्फत बैंक खाता सञ्चालन गरी ठगीमार्फत आएको रकम जम्मालगायत भुक्तानी लिने गरेको पाइएको हो ।
महाशाखाले सोही विशेष सूचनाको आधारमा कात्तिक २३ गते बुधबार ती भारतीय नागरिकलाई बालुवाटारबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दै जादाँ निजले माथि उल्लेखित बर–बहानाअनुसार नै बिभिन्न व्यक्तिबाट पटक–पटक गरी ५० लाख मात्र ठगी गरेको पाइएको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा अन्य व्यक्तिहरु समेतसगँ ठगी गरेको देखिएको हुदाँ थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि पक्राउ व्यक्तिलाई बिहीबार महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको छ । ।
ती भारतीय नागरिक यसअघि २०७२ साल जेठ २२ गते वैदेशिक रोजगारीसम्बन्धी कसुरमा पक्राउ परी डिल्लीबजार कारागारमा २ वर्ष कैद तथा ३ लाख ५०, भुक्तान गरी रिहा भएका थिए ।