काठमाडौं । एभरेस्ट सुगर मिलले उखु क्रसिङ सुरु गरेको छ ।
सरकारले उखुको मूल्य तोकेपछि किसानलाई भुक्तानी गर्ने सहमतिपछि उद्योगले किसानबाट उखु लिएर क्रसिङ सुरु गरेको हो ।
बारीमा उखु सुक्ने बेला भइसक्दा पनि सरकारले उखुको मूल्य निर्धारण गर्न नसकेपछि उद्योगले अहिले पुरानै मूल्यलाई आधार मानेर भुक्तानी गरिरहेको र नयाँ मूल्य निर्धारण भएपछि सोहीअनुसार बाँकी रकम भुक्तानी गर्ने किसानसँग सहमति गरेका छन् ।
एभरेस्टले अहिले किसानलाई हप्ता–हप्तामा उखुको भुक्तानी दिइरहेको छ । सरकारले बैंक खातामै किसानको भुक्तानी जाने व्यवस्था गरेसँगै एभरेस्टले उनीहरूको खातामा पुरानै मूल्यअनुसार रकम भुक्तानी गरिरहेको उद्योगले जनाएको छ ।
एमएस ग्रुपअन्तर्गत हिमालयन र एभरेस्ट चिनी उद्योग छन् । त्यसमध्ये एभरेस्टले उखु क्रसिङ गरिरहेको छ । केही दिनमै हिमालयन सुगर मिलले पनि क्रसिङ सुरु गर्ने बताएको छ ।
उखु खेतीबाट बिस्तारै किसानहरू पलायन हुँदै गएका कारण उखुको बढी मूल्य दिएर भए पनि यो क्षेत्रमै किसानलाई टिकाइराख्नुपर्ने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् ।
केही उद्योगको बदमासीका कारण किसान यो क्षेत्रबाट पलायन भइरहेका छन् । ‘उखुबाट हुने आम्दानीभन्दा अन्य क्षेत्रबाट हुने आम्दानी बढी भएकाले किसानको रुचि त्यतैतिर भएको देखिन्छ’ सुगर मिलका सञ्चालकसमेत रहेका अग्रवालले भने, ‘किसानलाई उखुबाहेक अन्य खेती गर्ने विकल्प छ । तर, सुगर मिलले उखु पाएन भने उद्योग नै बन्द हुन्छ र ठूलो लगानी जोखिममा पर्छ । आफ्नो लगानी संरक्षण गर्न पनि उखु किसानलाई जोगाउनुपर्छ । त्यतातिर सरकार र उद्योगी दुवैको ध्यान जान जरुरी छ ।’
उद्योगीले समयमा किसानलाई उखुको भुक्तानी नदिएपछि यो क्षेत्रबाट किसानहरू बिस्तारै पलायन हुँदै गएको अवस्था छ । अहिले पनि अन्नपूर्ण, महालक्ष्मी सुगर मिलले किसानको भुक्तानी गरेका छैनन् । यस्तै उनीहरूलाई सरकारले पनि अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन ।