काठमाडौं। जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ। अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिबाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो।
अहिले यी निकायले क्षतिको विवरण संकलन गर्ने र क्रमशः सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ।
अरु संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ। मन्त्रालयअन्तर्गतका मुख्य तीन वटा सफ्टवेयर र त्यसको तथ्यांक सुरक्षित रहेको उनको भनाइ थियो।
‘बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ। मन्त्रालयगत बजेट बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत कर प्रणाली (आईटिएस) सुरक्षित छ,’ उनले भने।
उनका अनुसार आगजनीबाट मन्त्रालयका २५ वटा कार पूर्ण रुपमा जलेर नष्ट भएका छन्। २० हाराहारी कारमा आंशिक क्षति पुगेको छ। त्यस्तै ४० वटा मोटरसाइकल जलेर नष्ट भएको प्रवक्ता पाण्डेयले जानकारी दिए।
आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौं उपत्यका बाहिरका चार-पाँच वटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ।
अहिले देशभरका भन्सार र कर कार्यालयको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ। आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौं उपत्यका बाहिरका चार-पाँच वटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ।
‘सरकारले काम सुरु गर्नु भन्यो भने काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुबाट तत्काल सेवा दिन सक्ने अवस्थामा छन्। तर, काठमाडौं बाहिरका धेरै वटा कार्यालय तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्,’ महानिर्देशक दाहालले भने।
उनका अनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, वीरगञ्ज, सिमरा, दमौली, पोखरा, भैरहवा, बुटवल, नेपालगञ्ज, डडेलधुरा, धनगडी कर कार्यालय पूर्ण रुपमा नष्ट भएका छन्। यी कार्यालयबाट तत्काल सेवा दिन सक्ने अवस्था नरहेको दाहालको भनाइ छ।
‘कर कार्यालयहरुमा पुगेको क्षतिको विवरण संकलनका लागि अहिले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मुचुल्का बनाउने काम भइरहेको छ। त्रिपाल टाँगेर भए पनि सेवा दिन सकिन्छ कि भनेर वैकल्पिक व्यवस्थामार्फत सेवा दिनका लागि पनि तयारी गर्न भनिएको छ,’ उनले भने, ‘अहिले कर कार्यालयको अनलाइन सेवामा समस्या छैन। धेरै काम अनलाइनबाटै हुने गरेको छ। तर अधिकांश कार्यालयबाट भौतिक रुपमा सेवा दिन सक्ने अवस्था छैन।’
जेनजी समूहबाटै आन्तरिक राजस्व विभागको वेभसाइटमा साइबर आक्रमणसमेत भएको थियो। केही समय ह्याकरको कब्जामा पुगेकोमा त्यसलाई फिर्ता ल्याउन सफल भएको उनले बताए। भद्रपुर, धरान, कावासोती, जुम्ला, कृष्णनगर, सुर्खेत, महेन्द्रनगर कर कार्यालयमा क्षति नरहेकाले तत्काल सेवा दिन सकिने अवस्थामा छन्।
भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँचपासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेको सीमित स्रोत साधनबाटै वस्तु जाँचपास सुरु गरिएको उनको भनाइ छ।
भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भन्सार सेवा सञ्चालनमा आइसकेको छ। उनले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक खाद्यान्न, फलफूल, ग्यास, तेललगायतका वस्तुको जाँचपासलाई प्राथमिकतामा दिइएको बताए।
भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँचपासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेको सीमित स्रोत साधनबाटै वस्तु जाँचपास सुरु गरिएको उनको भनाइ छ। चीनतर्फतको कोरला नाका भोलि आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए।
आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि अहिले अधिकांश सरकारी खाता प्रणाली बन्द गरिएका छन्। महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले अहिले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मात्रै सञ्चालनमा ल्याउन सकिएको बताए।