बलेवा । साविकको कुश्मीसेरा गाविसलाई खानेपानी पुर्याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ ।
पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीसेरा खानेपानी आयोजनाको अवधि लम्बिएको हो । आयोजनाअन्र्तगत मुख्य योजनाको ट्यांकी पाइपलाइन र उपभोक्ताका घर–घरमा धारा निर्माण भइसक्दासमेत मुहानबाट पानी ल्याउन सकिएको छैन ।
बागलुङ नगरपालिका–११ रायडाँडास्थित बेतिनी खोलामा रहेको मुहानमा पहिले विवाद र पछिल्लोपटक बाढीले ठूलो क्षति पुर्याएको छ । मुहानमा रहेको समस्याका कारण तत्काल पानी ल्याउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताए ।
संघीय सरकारबाट सुरु भएको यो आयोजना संघीयता कार्यान्वयनपछि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । ‘पहिले बजेट न्यून हुँदा काम गर्न कठिन थियो । अहिले बजेटको समस्या छैन् । प्रदेशमा आएपछि भइरहेका काम बनेका हुन्’ उनले भने, ‘अब काम रोकिन्न एक वर्षभित्र उपभोक्ताका धारामा पानी पुर्याउने लक्ष्य छ ।’
एक सय घनमिटर, २० घनमिटर र १५ घन मिटरका ट्यांकी निर्माण भइसकेका छन् । झन्डै ६ किलोमिटर पाइपलाइनको काम सकिएको भए पनि मुहानबाट पानी चलाउन नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम साहले बताए । ‘३०० धारा निर्माण भइसकेका छन् । बाँकी २०० धारा निर्माण हुन बाँकी छन्’ उनी भन्छन्, ‘पहिले मुहानको पानी ल्याउन सके धारा बनाउन बजेटको समस्या हुन्न । कार्यालय कामका लागि तयार छ ।’ उनका अनुसार मुहानमा बाढीले पुर्याएको क्षतिको मर्मतका लागि सुधार विस्तारको काम भइरहेको छ ।
चालू आर्थिक वर्षमा विनियोजन भएको ४० लाखको काम सकिएको छ । उपभोक्ताको घर घरमा धारा निर्माणमा बजेट सकिएको अध्यक्ष आचार्यले बताए । सुधार विस्तारका लागि २० लाख मात्रै विनियोजित बजेट छ । ‘बाढीपहिरोका कारण बनेका संरचनामा क्षति धेरै भएको छ । सुधार विस्तारको काम धेरै भएकाले बजेट अपुग हुन्छ’ उनले भने, ‘बजेट थप भएर आउने कुरा छ, सोही अनुसार काम अघि बढ्छ ।’
आयोजनाअन्र्तगत साना आयोजना १४ वटा छन् । सबै साना आयोजनामा समेत १२ वर्षअघि निर्माण थालिएका संरचना अधुरै छन् । आयोजना सुरु भएपछि खानेपानीको आशमा रहेका उपभोक्ता भने लामो समय धारामा पानी नआउँदा निराश छन् । ‘बनेका धारा भत्किने अवस्थामा पुगे पानी आएन । आशमै १२ वर्ष बिते’ उपभोक्ता क्षमकला शर्माले भनिन् ‘पानी नहुँदा बनेको धाराको संरक्षण गर्न पनि सकिएन ।’