काभ्रेपलाञ्चोक । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिन सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम काभ्रेपलाञ्चोकमा प्रभावकारी बन्दै गएको छ ।
यस कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म करिब ३० प्रतिशत नागरिकले बिमा गराएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार २९ दशमलव ८० प्रतिशत अर्थात १ लाख ५ हजार ८२ जनाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागिता जनाएका हुन् । बिमित उक्त सङ्ख्या अघिल्लो जनगणनाअनुसार हो ।
स्वास्थ्य बीमा बोर्डको जिल्ला प्रमुख मुना निरौलाका अनुसार काभ्रेपलाञ्चोकमा स्वास्थ्य बीमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको पाइएको छ । उनले ९ हजार ५ सय ३५ परिवारले बीमा नवीकरण गरिरहेको बताए । “बिमा नवीकरण गराउनेको सङ्ख्या दैनिक बढिरहेको छ”, उनले भने । उनका अनुसार नयाँ व्यक्तिसमेत स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
बोर्डका अनुसार हालसम्म बनेपा नगरपालिकाका २३ हजार ३ सय ११, धुलिखेल नगरका २२ हजार ६ सय ८९, पनौती नगरका १७ हजार १ सय १४, ५ खाल नगरका १२ हजार ९ सय ६, मण्डनदेउपुर नगरका १० हजार २ सय ४९, नमोबुद्ध नगरका ५ हजार ९ सय ८६ ले स्वास्थ्य बिमा गराएको जनाइएको छ ।
यस्तै, भुम्लु गाउँपालिकाका ३ हजार ६ सय १०, रोशीमा २ हजार ४ सय ५७, बेथानचोकमा २ हजार ८७, चौंरीदेउरालीमा १ हजार ६ सय २८, तेमालमा एक हजार ३५२, महाभारतमा एक हजार ७० र खानीखोला गाउँपालिकामा ६ सय २४ ले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको छ ।
बोर्डको तथ्याङ्कअनुसार सबैभन्दा बढी जिल्ला सदरमुकाम धुलिखेलका ७० दशमलव ५४ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन् भने सबैभन्दा कम बीमा गराउनेमा खानीखोला गाउँपालिकाको चार दशमलव ३३ प्रतिशत छन् ।
यस्तै, बिमितमध्ये ६ हजार २ सय ८८ ज्येष्ठ नागरिक छन् । ४ सय ३५ स्वास्थ्य स्वयंसेविका, ५३ एचआइभी सङ्क्रमित परिवार, २४ कुष्ठरोगी परिवार, ४०९ पूर्ण अपाङ्गता भएका परिवार रहेको बोर्डले जनाएको छ ।
जिल्लामा बिमाबापत ११ करोड ३५ लाख ४३ हजार ४ सय सङ्कलन भएको छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट तथा पूर्ण अपाङ्गता भएका परिवार र एचआइभी सङ्क्रमितको परिवारलाई भने निःशुल्क बिमा गर्ने प्रावधान छ ।
बिमा कार्यक्रमका लागि प्रत्येक वडामा एक दर्ता सहयोगी व्यवस्थापन गरिएको छ । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेपलाञ्चोकमा १ सय ३५ वडा छन् । जिल्लामा सदरमुकामको धुलिखेल अस्पताल, मेथिनकोट प्रदेश अस्पताल, रेयुकाई मासुनागा अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र पाँचखाल, धुलिखेल र खोपासीमा बीमित व्यक्तिले उपचार गराउने व्यवस्था मिलाइएको छ ।
उपचारको क्रममा स्वास्थ्य संस्था तथा अस्पतालबाट व्यहोर्नुपरेको विभिन्न उल्झन र झण्झटिलो व्यवस्थाको अन्त्य तथा उपचारका क्रममा अन्य बिरामीभन्दा स्वास्थ्य बीमा गर्नेलाई पहिलो प्राथमिकता दिएमा स्वास्थ्य बीमाप्रति आमनागरिकको चासो बढ्ने बताइएको छ ।
बिमा गरेका नागरिकले तोकिएका अस्पतालमा उपचार गराउन जाँदा कहिले विवरण नमिलेको कारण देखाउँदै त कहिले विभिन्न बहाना बनाएर उपचारमा कम प्राथमिकता दिएको गुनासो बिमितहरुको छ ।
“त्यस्तो गुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न सम्बन्धित अस्पतालमा आग्रह गरिएको र त्यसपछि सेवामा सुधार आएकाले नवीकरण गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ”, प्रमुख निरौलाले भने, “अझै पनि त्यसलाई व्यवस्थित गर्दै जाने हो भने नवीकरण गर्नेको सङ्ख्यामा वृद्धि हुँदै जान्छ ।” रासस