काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घ रोगीहरुलाई औषधि उपचारबापत मासिक ५ हजार रुपैयाँ दिने कार्यविधि तयारी अन्तिम चरणमा पुर्याएको छ ।
मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले कार्यविधि बनाउने काम अन्तिम चरणमा पुगेको बताएका हुन् । कार्यविधि तयार पारेर कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउने बताए ।
केही हप्ताअघि कार्यविधि तयारीका लागि गठन भएको समितिले विस्तृत प्रतिवेदन बुझाउने छ । सोही प्रतिवेदनअनुसार नै दीर्घरोगीहरुले उपचार खर्च प्राप्त गर्ने छन् ।
प्रतिस्थापन बजेटमा सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार रुपैयाँ दिने भनेको छ ।
स्वास्थ्य मन्त्रालयको सुस्तताको कारण कार्यविधि बन्न ढिलाइ भएको हो । दीर्घ रोगीहरुलाई अर्थ मन्त्रालयबाट रकम निकासा हुनुपर्छ । तर, स्वास्थ्य मन्त्रालयले कार्यविधिको प्रतिवेदन अर्थ मन्त्रालयमा दिन नसक्दा रोगीको उपचार वापत खर्च हुने रकम पनि एकिन हुन सकेको छैन ।
अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले कार्यविधिको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी पाएको बताए । उनका अनुसार कार्यविधिको प्रतिवेदन प्राप्त गरेपछि अर्थ मन्त्रालयले दीर्घ रोगीका लागि उपचारबापतको रकम निकासा गर्ने छ ।
प्रतिस्थापन बजेटमा नै उल्लेख भएको कोभिडको कारण रोजगारी गुमाएका गरिब परिवारलाई १० हजार रुपैयाँ दिने सम्बन्धमा कार्यविधि बनेर मन्त्रिपरिषदबाट पारित भइ अर्थ मन्त्रालयले पैसा लिन बोलाई सकेको छ ।
त्यस्तै संस्थान सुधार गर्ने विषयमा बनेको कार्यदलले समेत प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमाथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल चलिरहेको छ ।
यो पनि हेर्नुहोस
दीर्घ रोगीलाई मासिक ५ हजार दिन अझै बनेन कार्यविधि, स्वास्थ्यलाई छैन जानकारी