काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । आइतबार लगानीकर्ताहरूसँगको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन ।
आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने उल्लेख गर्दै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरे ।
‘एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो’ उनले भने, ‘यस्तो जानकारी हामीलाई समयमै गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो सहज हुन्छ ।’
‘प्रोजेक्टको समय बित्नु भनेको हामीलाई नै घाटा हुने हो । व्यावसायिक रूपले हेर्दा पनि समय बिलकुलै लम्ब्याउनु हुँदैन’ उनले भने, ‘मुख्य पुँजी भनेकै समय हो ।’
नेपाललाई वैदेशिक लगानी आवश्यक रहेको बताउँदै मन्त्री शर्माले त्यसका लागि सरकारले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।
लगानी बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिएका छन् ।