काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरन्जीवि नेपालले सर्वसाधारणको निक्षेपमा मनपरी नगर्न बैङ्कका सञ्चालकलाई चेतावनी दिएका छन् ।
बैङ्कमा ९० प्रतिशतभन्दा बढी जनताको पैसा भएको स्मरण गराउँदै उनले यसलाई गलत प्रयोग नगर्ने सुझाएका हुन् । बैङ्कका सञ्चालकको बैठकलाई बिहीबार बिहान सम्बोधन गर्दै उनले भने, ‘जनताको पैसामा जे पायो त्यो गर्न छुट छैन।’
आफ्नाे पद गुम्ने भयो भनेर १० ठाउँमा गएर हारगुहार नगर्न उनले बैङ्कका सञ्चालकलाई चेतावनीसमेत दिए ।
राष्ट्र बैङ्कले ल्याएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक उमेर हदबन्दीलाई चुनौती दिँदै प्राइम कमर्शियल बैङ्कका सीईओ नारायणदास मानन्धरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याएपछि रुष्ट बनेको गर्भनर नेपालले सम्बोधनको अधिकांश समय बैङ्कका सञ्चालकलाई गाली गर्न खर्चिएका थिए ।
नीति कार्यन्वयन गर्न बैङ्कका सञ्चालकले नसघाएको उनको गुनासो थियो । गभर्नर नेपालले हालसम्म बैङ्क तथा वित्तीय संस्थामा सर्वसाधारणको ३२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप रहेको जानकारी गराउँदै यसको सुरक्षा गर्ने जिम्मा बैङ्कहरुको भएको स्पष्ट पारे ।
उनले अन्तर्राष्ट्रिय मूल्य र मान्यताका आधारमा सञ्चालक र सीईओको उमेर हदबन्दी तोकिएकाे स्पष्ट पारेका थिए । ‘केन्द्रीय बैङ्कले व्यक्तिगत रिसिइवीका आधारमा नियम ल्याउँदैन र ल्याएको पनि छैन’ उनले भने ‘संस्थागत सुशासन कायम गराउन ल्याइएको हो ।’
उनले बैङ्कहरुले सुशासन कायम नगर्दा कतिपय बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त बनेको स्मरण गराउँदै वित्तीय स्थायित्व कायम गराउन यस्तो निर्णय गरेको जिकिर गरे ।
सो अवसरमा नेपाल बैङ्कर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले केन्द्रीय बैङ्कले ल्याएको नीति नियम बैङ्कहरुले पालना गर्नुपर्ने बताए । बैङ्कमा सर्वसाधारणको निक्षेप भएकाले सुरक्षण गर्नुपर्ने र संस्थागत सुशासन कायम हुनुपर्नेमा जोड दिए ।