काठमाडौं । सामाजिक सुरक्षा कोषलाई डेढ अर्ब रुपैयाँसमेत तिर्न नसकेको तथ्य बाहिरिएपछि सरकार गम्भीर आर्थिक संकटमा परेको आँकलन गर्न थालिएको छ ।
केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्तालाई वैशाख र जेठ महिनाबापत रकम भुक्तानी गरिदिने बताएको थियो ।
त्यही रकम उपलब्ध गराउन कोषले बारम्बार अर्थ मन्त्रालयसँग ताकेता गरेपछि अहिलेसम्म भुक्तानी नभएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए ।
सरकारले रोजगारतादालाई राहत दिने उद्देश्यले दुई महिनाको दायित्व बेहोर्ने बताएको थियो । कोषमा रोजगारदाताका तर्फबाट २१ प्रतिशत र श्रमिकका तर्फबाट १० प्रतिशत योगदान रहन्छन् ।
‘कोषलाई दुई महिनाको १ अर्ब ४८ करोड रुपैयाँ अर्थले दिनुपर्ने हो । त्यो रकमसमेत दिन नसक्ने अवस्थामा पुगेका छौं’ अर्थका एक उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘उनीहरुले बारम्बार भुक्तानी गर्न ताकेता गरिरहेका छन् । तर, अर्थसँग क्षमता नभएर तिर्न नसकेको हो ।’ सरकारको ढुकुटीमा जम्माजम्मी ८ अर्ब हाराहारी मात्रै रकम छ ।
गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयकले समेत त्यसलाई सदर गरेपछि त्यसबापतको दायित्व भुक्तानीको दबाबमा अर्थ मन्त्रालय रहेको छ ।
सामाजिक सुरक्षाकोषलाई दुई महिनाको १ अर्ब ४८ अर्ब रुपैयाँ अर्थ मन्त्रालयबाट भुक्तानी लिनुपर्ने ज्ञवालीले जानकारी दिए । अर्थ स्रोतका अनुसार अहिले कुनै पनि भुक्तानी हुन सकेको छैन । सामान्यभन्दा सामान्य भुक्तानी समेत लामो समयदेखि रोकिएर बसेको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले समय निर्णय लिन नसक्दा देश गम्भीर आर्थिक संकटमा परेको छ ।
याे पनि पढ्नुस्
सरकारको ढुकुटीमा ८ अर्ब मात्रै, वित्तीय व्यवस्थापनमा गम्भीर समस्या