काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन्र । बिहीबार लगानी बोर्डको बैठकमा बोल्दै उनले विकास काठमाडौं केन्द्रित मात्रै भएको भन्दै उनले अन्य क्षेत्रमा पनि सहरी विकास गर्नुपर्नेमा जोड दिए ।
उनले धेरै मानिसको बसोबास सहरी क्षेत्रमा नभई दुर्गम क्षेत्रमा भएकाले नयाँ सहर निर्माण गर्नुपर्ने बताए। उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने जोड दिए । ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता ३ ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’
मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाई थियो ।
उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई आग्रह गरे । त्यस्तै जलविद्युत क्षेत्रमा ३ ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईहरूले ध्यान दिनुहोस्’, उनले भने ।
त्यस्तै अर्थमन्त्री शर्माले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि बताए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए ।
‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुपर्यो’, उनले भने, ‘यो योजना तपाईंहरूको विशिष्टिकृत योजनामा हुनुपर्यो ।’
बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता थियो ।