काठमाडाैं । ठूला करदाता कार्यालय, ललितपुर र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छुट तथा सुविधाको विषयमा तथा पौष मसान्तभित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकर बापतको रकम दाखिला गर्ने विषयमा छलफल भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छुट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारी बारेमा आ–आफ्ना धारणा राखेका थिए ।
साे धारणाको सम्बन्धमा सम्बन्धित क्षेत्र हेर्ने प्रमुख कर अधिकृतले त्यसबारे कार्यालयको तर्फबाट जवाफ दिएका थिए । यस्तै समग्रमा ठूला करदाता कार्यालयको तर्फबाट प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेको छुट तथा सुविधाहरूमध्ये विचाराधीन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद २०७८ पौषभित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, वित्त प्रमुख र प्रतिनिधि एवम् ठूला करदाता कार्यालयका तर्फबाट प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृतलगायतकाे सहभागिता रहेको थियो ।