काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई भनेका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई उक्त निर्देशन दिएका हुन् ।
उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताएका छन् । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु ।’
तर, अहिलेको खर्चको अवस्था हेर्दा चालू आर्थिक वर्ष पनि शतप्रतिशत बजेट खर्च हुने देखिँदैन । सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९ प्रतिशत मात्रै भएको छ । यसैगरी, चालू खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ ।
समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको छ । पुस २ गते अर्थमन्त्री शर्माले यस्तै प्रकारका निर्देशन दिएका थिए । त्यसबेला विषयगत मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा बोलाएर पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत बजेट खर्च गर्न भनेका थिए ।
३० प्रतिशत बजेट खर्च नभएमा रकमान्तर तथा शाेधान्तर गर्ने धम्की उनले सचिवहरुलाई दिएका थिए । तर, उनको निर्देशनले काम गरेन । ३० प्रतिशत बजेट खर्च भएन ।
यसैगरी, गत भदौ २६ गते प्रतिस्थापन विधेयक प्रस्तुत गरेपछि पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनी अर्थमन्त्री भएको ६ महिना पुग्नै लाग्दा करिब १० प्रतिशत मात्रै बजेट खर्च भएको छ । मंगलबार भएको छलफलमा मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्नसमेत आग्रह गरेका छन् ।
उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए । त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए ।
‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने , ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ ।