काठमाडौं । पुसको बाँकी ३ दिनमा लक्ष्यको ५० प्रतिशत आयकर उठाउनुपर्ने दबाबमा आन्तरिक राजस्व विभाग परेको छ । पुसमा ६६ अर्ब रुपैयाँ आयकर उठाउने लक्ष्य राखेकोमा हालसम्म ३३ अर्ब रुपैयाँ मात्रै आयकर असुल भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।
कोभिडका कारण गत आर्थिक वर्ष अधिकांश कम्पनीहरुको आम्दानी घटेकाले आयकर असुली लक्ष्यभन्दा कम देखिएको हो ।बैंक तथा वित्तीय संस्थाको नाफामा कमी नआएकाले गत वर्षकै आम्दानीको आधारमा कर तिर्न विभागले ताकेता गरेको छ । तर, अन्य व्यावसायिक प्रतिष्ठानमा भने कोभिडको असरले नाफामा कमी आएपछि आयकर पनि घटेको हो ।
अझै ३ दिन समय बाँकी रहेकाले आयकर असुली बढ्ने विश्वास विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले व्यक्त गरे । ‘कोभिडका कारण गत वर्ष अधिकांश व्यावसायिक प्रतिष्ठानको आम्दानी घटेकोले आयकर संकलनमा पनि कमी आएको छ’ उनले भने, ‘हालसम्म ५० प्रतिशतको हाराहारीमा संकलन भइसकेको छ । थप ५० प्रतिशत उठाउनुपर्ने दबाबमा छौं ।’
विगतका वर्षहरुमा पनि अन्तिम समयमा आएर बढी आयकर असुलउपर हुने गरेको उनको भनाइ छ ।
सरकारले बजेटमार्फत आयकरमा दिएको छुट, कर निर्धारण उपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकन तथा न्यायिक निकायमा गरेको अपिलका कारण पनि आयकरमा कमी आउने गरेको छ ।
गत वर्ष करदाताले चित्त नबुझाई प्रशासकीय पुनरावलोकन तथा न्यायिक निकायमा अपिल भएको १ खर्ब ३१ अर्ब ८५ लाख र न्यायिक निकायमा विचाराधीनसमेत गरी कुल १ खर्ब ७१ अर्ब रुपैयाँ बक्यौता रहेको छ ।
विभागले पुसका लागि ८९ अर्ब ९२ करोड रुपैयाँको लक्ष्य राखेको थियो । आयकर ६६ अर्ब र मूल्य अभिवृद्धि कर ११ अर्ब रुपैयाँका साथै ब्याज, घरबहाल कर, आन्तरिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क (आन्तरिक), स्वास्थ्य सेवा र शैक्षिक कर असुल गर्नुपर्ने हुन्छ ।