काठमाडौं । अत्यधिक कर छल्नेमा मदिरा, पान, गुट्खा व्यवसायी रहेको पाइएको छ । मदिरा, पानपराग, गुट्खालगायतमा बढी कर लाग्छ । त्यही वस्तुमा बढी राजस्व छली हुने गरेको राजस्व अनुसन्धान विभागको अध्ययनमा देखिएको छ ।
कम करको दर भएका वस्तुमा राजस्व छल्ने नियत कम देखिएको छ । तर, बढी अन्तःशुल्क लाग्ने वस्तुमा बढी नै कर छली भइरहेको देखिएकाले विभागले त्यतातिर निगरानी बढाएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।
क्यापिटल नेपालसँगको विशेष कुराकानीमा पौडेलले भने, ‘बढी अन्तःशुल्क लाग्ने उत्पादनमा व्यवसायीले बढी कर छल्न खोजेको देखिन्छ । कम अन्तःशुल्क लाग्ने क्षेत्रमा कर छली पनि कमै भएको पाइएको छ ।’
सरकारले बढी अन्तःशुल्क मदिरा, गुट्खा, पानपराग, चुरोटबाट लिँदै आएको छ । ती उत्पादनमा एकै पटक मात्रै अन्तःशुल्क छल्न पाए पनि व्यापारीलाई ठूलो फाइदा हुने विभागको निष्कर्ष छ ।
विभागका अनुसार व्यापारीले चुरोटको अन्तःशुल्क स्टिकर गुट्खामा टाँसेर समेत कर छली गर्ने गरेको फेला परेको छ । यस विषयमा विभागले थप अनुसन्धान गरिरहेको छ ।
नाफा बढी हुने र कम सजाय हुने देखिएमा कर छली हुने गरेको अनुसन्धानबाट देखिएको छ । अन्तःशुल्क नलाग्ने वस्तुमा करको दर कम र लाग्ने वस्तुमा सो दर बढी हुन्छ ।
बढी करको दर हुने वस्तुमा कर छल्न सक्यो भने त उसको ठूलो रकम बचत हुन्छ । सुर्ती तथा मदिराजन्य वस्तुमा कर छली गर्दा प्रशस्त फाइदा हुने भएकाले विभागले सूक्ष्म निगरानी बढाएको हो ।