काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखाव्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा बोल्दै उनले आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखाव्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
विश्वसामु उत्कृष्ट लेखा व्यवसायी संस्था हुन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालार्ई सुझाव दिँदै महालेखा परीक्षक शर्माले लेखा व्यवसायका लागि आवश्यक दक्षजनशक्तिको विकासमा ध्यानदिनसमेत आग्रह गरेका छन् । मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्न लेखाव्यवसायीहरुले ध्यान दिनुपर्ने उनको भनाइ छ । पछिल्लो समय धेरै आर्थिक क्रियाकलाप डिजिटल प्रविधिबाट हुने गरेकाले लेखा व्यवसायमा पनि प्रविधिको अधिकतम प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
वार्षिकोत्सव तथा रजतजयन्ती समारोह सोेमबार ललितपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । मुलुकमा लेखा व्यवसायको विकास र नियमन गर्न सहयोग पुर्याउने उद्देश्यले वि.स २०५३ सालमा सो संस्थाके स्थापना भएको थियो । कार्यक्रममो उद्घाटन संस्थाका अध्यक्ष युद्धराज ओलीले गरेका थिए । उक्त कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सीए युद्धराज ओलीले संस्थाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तीर्थराज उपाध्याय, उपाध्यक्ष भाष्करसिंह लाला, संस्थाका कार्यकारी निर्देशक सन्जयकुमार सिन्हा, संस्थाका निर्देशक विनोद न्यौपानेको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाको स्थापना, विकास तथा यसका गतिविधिहरुमा उत्कृष्ट योगदान पुर्याउने संस्थाको अन्तरिम तथा प्रथम परिषदका अध्यक्ष स्व. कोमलबहादुर चित्रकारलाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो । त्यस्तै आठौं परिषदका अध्यक्षहरु सिए जगन्नाथ उपाध्याय निरौला, सिए कृष्णप्रसाद आचार्य र सिए मदनकृष्ण शर्मालाई सम्मान गरिएको थियो ।
यस्तै संस्थामा अनबरत २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवापदक प्रदान गरिनुका साथै उत्कृष्ट रुपमा कार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
संस्थामा हालसम्म १७ सय २९ जना चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु, ख, ग, घ वर्ग गरी कुल ७२ सय ३६ जना दर्तावाला लेखापरीक्षक सदस्यहरु आबद्ध हुनुहुन्छ । संस्थाले हालसम्म ६ सय ३२ जना चार्टर्ड एकाउन्टेन्ट्सहरु उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्नतहमा १२ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।