काठमाडौं। ‘सेन्चुरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगले एक वर्षमै साढे २ अर्बमाथिको व्यापार गरेको छ। दुई दशकदेखि नेपालको खाद्यान्न बजारमा सक्रिय सेन्चुरी फूड प्याकेजिङ एन्ड प्रोसेसिङले गत आर्थिक वर्ष २०२५ मा २ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
कम्पनीले आव २०२४ मा २ अर्ब ५४ करोड ८० लाख र आव २०२२ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
सन् २००१ मा स्थापना भई चामलको प्रशोधन र प्याकेजिङमा केन्द्रित रहेको यो कम्पनीले आफ्नो वार्षिक व्यापारमा निरन्तर वृद्धि गरेसँगै यसको साख (क्रेडिट रेटिङ) मुल्यांकन समेत सुधार भएको छ। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले हालै गरेको साख मूल्यांकनमा कम्पनीको व्यापार वार्षिक ६ प्रतिशतको वृद्धि भएको देखिएको हो।
व्यापारको वृद्धिसँगै आव २०२४ मा ५.४९ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर ९.८९ प्रतिशत पुगेको छ। खर्चको सही व्यवस्थापन, बजारमा मूल्यको अनुकूल स्थिति र सञ्चालनमा आएको चुस्तताका कारण कम्पनीले आफ्नो आम्दानीलाई गुणात्मक रूपमा बढाउन सफल भएको रिपोर्टमा उल्लेख छ। नाफाबाट आर्जित रकमलाई पुँजीमा रूपान्तरण गर्दा कम्पनीको खुद सम्पत्ति बढेको छ भने ऋणमाथिको निर्भरता घट्दै गएको छ। सन् २०२४ मा ०.९८ गुणा रहेको गियरिङ अनुपात घटेर अहिले ०.७१ गुणामा झर्नुले कम्पनी आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएको संकेत गर्छ।
व्यापार वृद्धिसँगै केयर रेटिङले कम्पनीको वित्तीय साखलाई अपग्रेड गरेको छ। कम्पनीको ५२ लाख रुपैयाँको दीर्घकालीन ऋण सुविधालाई ‘त्रिपल बी माइनस’बाट बढाएर ‘त्रिपल बी’ कायम गरेको छ। ७६ करोड ४८ लाख रुपैयाँको अल्पकालीन ऋण सुविधालाई पनि ‘ए–थ्रि’बाट ‘ए–थ्रि प्लस’ रेटिङ दिइएको छ। यो रेटिङले कम्पनीसँग आफ्नो ऋण र दायित्वहरू भुक्तानी गर्ने पर्याप्त क्षमता रहेको र लगानीको जोखिम न्यून रहेको जनाउँछ।
कम्पनीमा चार दशकभन्दा लामो अनुभव भएका अध्यक्ष राजेन्द्र प्रसाद अग्रवाल छन्। सुनसरी, ललितपुर, नारायणघाट, पोखरा र भैरहवामा कार्यालय र गोदामहरू रहेको यो कम्पनीले ‘थकाली’, ‘मुबारक’, ‘सान्चो’, ‘कोहिनूर’ र ‘सुवास शाही’ जस्ता ब्रान्डहरूबाट चामल बिक्री गरिरहेको छ। नेपाली समाजमा चामल आधारभूत खाद्य वस्तु भएकाले यसको मागमा कहिल्यै कमी नआउनु र कम्पनीले छोटो समयमै आफ्नो ब्रान्डको प्रभाव पार्न सक्नु यसको प्रमुख सबल पक्ष रहेको रिपोर्टमा उल्लेख छ।
यद्यपि, कम्पनीका सामु केही व्यावसायिक चुनौतीहरू पनि विद्यमान छन्। प्रयोग हुने कच्चा पदार्थको करिब ८७ प्रतिशत हिस्सा भारतबाट आयात गर्नुपर्ने भएकाले भारतीय बजारको मूल्य र नीतिमा हुने सामान्य परिवर्तनले पनि कम्पनीको उत्पादन लागतमा असर पार्न सक्ने रिपोर्टमा उल्लेख छ।
त्यसैगरी, चामलको व्यापारिक क्षेत्र निकै प्रतिस्पर्धात्मक र धेरै साना–ठूला उद्योगहरू छरिएर रहेकोले बजारमा मूल्य निर्धारण गर्दा कम्पनीले निकै सतर्कता अपनाउनुपर्ने हुन्छ। कार्यशील पुँजीको बढी आवश्यकता र बैंकको ब्याजदरमा हुने उतारचढाव कम्पनीका लागि अर्को चुनौतीपूर्ण पक्ष हो। तर, सीमा क्षेत्र नजिकै रहेको प्याकेजिङ युनिटले ढुवानी खर्च घटाउन मद्दत गरेको र बजारमा ब्रान्डको बलियो पकड रहेकाले यी चुनौतीहरूलाई चिर्दै कम्पनी थप वृद्धिको बाटोमा अगाडि बढ्ने रिपोर्टमा उल्लेख छ।