काठमाडाैं । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा पक्राउ परेका छन् ।
भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडाैं तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिएर स्वाबको नमुनासमेत संकलन नगरी पिसिआर रिपोर्ट बनाउँदै आइरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी रोशनकुमार छिट्टानलाई सो हस्पिटलबाट जारी भएका ८ थान नक्कली पिसिआर रिपोर्टसहित पक्राउ गरेको हो । यस्तै सोही हस्पिटलका ल्याब म्यानेजर प्रशसन्न कुमार झालाई नियन्त्रणमा लिएको हो ।
यस्तै तीनकुनेस्थित कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्र कुमार यादवलाई पनि १७ थान नक्कली पिसीआर रिपोर्टसहित पक्राउ गरेको छ । साथै पक्राउ पर्नेमा ल्याब कर्मचारी माधव मैनाली पनि छन् ।
उनीहरुले स्वाब संकलन तथा परीक्षण नै नगरी पिसिआर टेस्ट नेगेटिभको रिपोर्ट बनाएका थिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिस्टरसमेत नियन्त्रणमा लिएको हो ।
फरार रहेका दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको छ ।
अहिले दुवै ल्याबसम्बन्धी सबै बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको छ ।