काठमाडौं । शुक्रबार काठमाडौं छिरेका चिनियाँ टोलीले बैङ्कको सिस्टमलाई ह्याक गरी सफ्टवेयरलाई समेत बाइपास गरेर एटीएमबाट रकम चोरी गरेको खुलेको छ ।
महानगरीय प्रहरी परिसर टेकुका अनुसार चिनियाँ नागरिकले नयाँ टेक्निक लगाएर पैसा चोरेका हुन् । यसमा सिस्टम नै ह्याक भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले बताए ।
‘त्यो एकदमै खतरनाक कुरा हो । बैङ्कको डाटा सिस्टमलाई पूरै बाइपास गरेर यिनीहरुले पैसा निकालेका छन् । यसअघिसम्म विदेशी नागरिकहरु आएर एटीएम बुथमा क्यामेरा सेट गरेर हामीले टाइप गर्ने पीनलाई जुम गरेर पीन नम्बर पत्ता लगाएपछि मात्रै पैसा झिक्थे । तर यो पटकको चोरी एकदमै फरक छ,’ डीएसपी होमेन्द्र बोगटीले भने ।
परिसरले लिन जियाङमिङ, लिउ जियालाई, झू लियाङग्याङ, क्यू यूङकिङ र चेन बिन बिनले नयाँ तरिका प्रयोग गरेर पैसा चोरेको हो । प्रहरी परिसरले उनीहरुबाट बरामद शंकास्पद चोरीको रकम एक करोड ६७ लाख ७ सय २० रुपैंया पनि बरामद गरेको छ ।
डीएसपी होमेन्द्र बोगटीको भनाइ जस्ताको तस्तै
हिजो बेलुकी लगभग चार बजेतिर प्रभु बैंकको अपरेसन हेडको फोन आयो । उहाँले दरबारमार्ग नबिल बैंकको काउन्टरबाट विदेशी जस्तो देखिने मान्छेहरुको अलिक अस्वभाविकरुपमा चलपहल भइरहेको छ भन्ने शंका व्यक्त गर्नु भयो । त्यसपछि मैले दरबारमार्गको टोलीलाई समन्वयका लागि भनेको थिए र हामी गाडी लिएर दरबारमार्ग पुग्यौं । पुग्दा एकजना चिनियाँजस्तो देखिने मान्छे पैसा भटाभट निकालिरहेको थियो ।
उनी निस्कने बित्तिकै हामीले उसलाई गार्डको सहयोगमा नियन्त्रणमा लियौं । तर उसले हामीलाई केही खोलेन । हो हैन सम्म पनि बोलेन । उसका तीनजना मान्छे चहिँ उसकै वरिपरी बसेर हेरेको जस्तो देखियो । सोधपुछ गर्दा उसले केही पनि बताएन । हेर्दा जम्मा ४५ हजार रुपैयाँ पैसा मात्र छ ।
निकालिएको रकम वैधानिकरुपमा नै निकालेको जस्तो लाग्यो । तर त्यसको पकेट र झोलामा खानतलासी गर्दा २० ओटा नक्कली एटीएम कार्डहरु देखियो । त्यसपछि केही समस्या छ भन्ने लागेपछि खान तलासी गर्दा होटल माया मनोहरको कोठा नम्बर ६०२ र ६०४ को चाबी फेला पर्यो ।
त्यति भएपछि हामीलाई पैसा कोठामा लगेर राखेको छ भन्ने पक्का भयो । त्यसपछि उसलाई त्यहीँ राखेर हामी दरबारमार्गको टोलीसँग चाबी लिएर होटल माया मनोहरा पुग्यौं । होटलमा पुगेर काउन्टरमा कुरा बुझेर हामी लिफ्टबाट माथि उक्लिदैँ मात्र के थियौं, तिनीहरु दुई ओटा सूटकेस र तीनओटा झोलासहित तीनजना मान्छेहरु माथिबाट तल ओर्लिदैँ थिए । हामीले शंका लागेर लिफ्ट मै रोक्यौं ।
त्यसपछि हामीलाई जुन फोटो आएको थियो त्यसलाई हामीले भेरिफाई गर्यौं । भेरिफाई गर्दा त्यो तीनजनासँग पैसा विथड्र गर्नेहरुको फोटो मिल्यो । मिलेपछि हामीले उनीहरुलाई कोठामा लगेर दुईओटा सूटकेस हेर्दा ती दुई सूटकेसमा त टनाटन पैसाको बण्डल थियो । अनि एउटा झोलाभरी जथाभावी नमिलाई खाँदेको पैसा थियो । आफ्नो मान्छेहरु पक्राउ पछिसकेको भनेर थाहा पाएपछि उनीहरु पुरै कुदेर हतारमा होटलमा पुगे । त्यहाँ पुग्दा दुईजना खाइरहेका थिए ।
खाने मान्छेले त्यति कै छोडेर पैसा खादेँर भाग्न मानसिकता रहेको पाइयो । उनीहरु चहिँ छैठौँ फ्लोरमा बस्ने रहेछन् । बाँकी तीनजना चहिँ दोस्रो फ्लोरमा बस्ने रहेछन् । दोस्रोमा बस्नेले चहिँ अलि अलि भएको पैसा बोकेर भागिहाले छन् । छैठौं तल्लामा बस्नेलाई चाहिँ आउन जान समय लागेको हुँदा हामीले उनीहरुलाई पकडी हाल्यौं । त्यसमा लगभग हामीले एक मिनेटभन्दा मात्र ढिलो गएका थियौं भने पक्रिने सम्भावना थिएन किनभने तिनीहरुले नेपाली नम्बर पनि प्रयोग गर्दैनन् ।
शनिबार चहिँ पूरै ध्वस्त पार्ने यति ध्वस्त पार्ने भनेर उनीहरुसँग सिमित योजना नै थिएन । अनि आज आइतबार चहिँ आराम गर्ने क्यासिनो जाने उनीहरुको योजना थियो र भोलीको फ्लाइटमा चीन फर्किने उनीहरुको पुरै नियोजित योजना देखिन्थ्यो ।
अब त्यो हिसाबले हामीले अपरेसन सञ्चालन गर्यौ । हेर्दा पैसाको अमाउन्ट ठूलो देखियो त्यो हिसाबले हामीले बैंकलाई सम्पर्क गरेर पैसा काउन्ट गर्ने दुईओटा मसिन ल्याएर गनेर काम सम्पन्न गर्दा रातको दुई बजेको थियो । अनि हामीले यिनीहरुलाई यहाँ ल्याएर मेडिकल गराएर सम्पूर्ण प्रक्रिया पूरा गरेर आज चहिँ यिनीहरुको सात दिनको म्याद थप गरेका छौं ।
म्याद थप गरेर थप अनुसन्धानको प्रक्रिया अगाडी बढाएका छौं । बैंकिङ कसूरसम्बन्धी मुद्दा हेर्ने भएकोले यसका लागि हामीले उच्च अदालत पाटनबाट म्याद थप गरेका छौं । यसमा रोचक कुरा के छ भने यो यसअघिका सामान्य किसिमका ह्याकिङभन्दा फरक छ ।
यसको अर्थ बैंकको सिस्टममा इन्ट्री नगरी डाइरेक्ट अट्याक गरेको अवस्था छ । यो अलिक गहन प्रकृतिको देखिन्छ । यस्तै टेक्निक अप्नाएर केही महिनाअघि भारतमा पनि ८० करोड विथड्र गरिएको थियो । प्याट्रर्नहरु मिलेको देख्दा यहीँ ग्रुप हुनसक्ने हामीलाई लाग्छ ।
अहिले चहिँ एक करोड ६७ लाख ७ सय २० रुपैंया निकालेको प्रारम्भिक अनुसन्धानमा राष्ट्रबैंकका निर्देशक बमबहादुर मिश्रले बताएका छन् ।
यिनीहरुले यो काम चहिँ हिजो बिहानदेखि सुरु गरेको देखिन्छ । दरबारमार्गस्थित नबिलको एटीएम बुथबाट चहिँ रंगेहात पक्राउ परेको हो । यसैगरी ठमेलको बुथबाट पनि निकालिएको भन्ने कुरा आएको छ ।
सबैलाई थाहा भएकै कुरा हो एउटा बैंकको एटीएम बुथबाट धेरै बैंकको पैसा निकाल्न सकिन्छ । यहाँ चहिँ नबिल बैंकको बुथबाट प्रभु बैंकको पैसा दनादन निकालीरहेको छ । सिस्टमलाई बाइपास गरेर डाइरेक्ट पैसा विथड्र गरेको कारण प्रभु बैंकलाई पैसा निकालेको भनेर शंका लागेको हैन, तर एउटा बुथमा सबै बैंकलाई सीसी क्यामेराको एक्सेस हुन्छ ।
यस्तो अवस्थामा अस्वभाविकरुपमा एउटै मान्छेले धेरै चलखेल गरिराखेको देखिएपछि उनीहरुले आशंका गरेको हो । तीन चारजना मान्छेहरु लगातार एउटै बुथमा आउने जाने गरिरहेपछि उनीहरुले शंका गरेको हो ।
यो कुरा इन्भेस्टमेन्ट बैंक, एनसीसी बैंक, कुमारी बैंकलाई पनि थाहा भएको थियो । उनीहरुले आफ्नो आफ्नो च्यानलमा फोन गरे । हाम्रो विशेष ब्यूरो सीआईबी सबैलाई सम्पर्क गरेको जानकारी आएको थियो । तर हामीले यताबाट छिटो एक्सन लियौं । नत्र त्यो बाँकी तीनजनाले जस्तै पक्राउ परेका अन्यले पनि पैसा लिएर भागेको भए उनीहरुलाई पनि खोज्न सक्ने अवस्था थिएन । त्यहीँ ४५ हजारसँग पक्राउ पर्नेमाथि मुद्दा चल्ने थियो ।
त्यहाँ मोनिटर नभएको भए उनीहरुले रातभरीमा ठूलो रकम कुम्ल्याउने थिए । र अझ पनि रोचक के छ भने शुक्रबार आए र शनिबार विदाको दिन पर्छ भन्ने थाहा भयो । शनिबार यहाँ कसैले पनि वित्तीय ट्रान्जेक्सनको मोनिटरिङ गर्दैन भन्ने उनीहरुलाई जानकारी छ । उनीहरुले टार्गेट गरेको दिन भनेको शनिबार हो । यिनीहरुले आज आइतबार पनि केही गर्ने थिएनन् । किनभने उनीहरुलाई थाहा छ आज सबै बैंकहरु खुल्छ भन्ने कुरा । त्यो हिसाबले उनीहरुले शनिबारलाई नै टार्गेट गरेर योजना बनाएको देखिन्छ ।
यिनीहरुले कसरी काम गरेको छ भन्ने डाटा ह्याक गरेको छ । डाटा ह्याक गर्ने मान्छे अरु नै कोही छ । त्यो ह्याक गर्ने मान्छेले डाटाको पिन नम्बर उनीहरुलाई दिएको छ र उनीहरुले त्यो पिन नम्बर हाले पछि फ्रड एटीएम कार्ड छिराएर पैसा निकाल्छ । उनीहरुले के भन्छ भने उनीहरु कमिसनको लागि मात्र आएको देखिन्छ ।
यिनीहरु दुईजना चीनको सांघाई र अर्को तीनजना ज्याङछुबाट आएका छन् चिनियाँ एयरलाइन्सको प्रयोग गरेर आएका छन् । ती आठजनामा पनि दुईओटा ग्रुप रहेको हामीले पत्तो पाएका छौं र त्यो ग्रुपमा पनि एकले अर्कोलाई चिन्दैन । चारजनाले आफ्नो ग्रुपलाई चिन्छ तर अर्कोलाई चिन्दैन । हामीले भाग्यबश एउटा फूल ग्रुप र अर्को ग्रुपको एकजनालाई पनि समात्न सफल भयौं ।
उनीहरुले कम्पनीको सफ्टवेयर डाटा ह्याक गरेर लियो र त्यो डाटा चहिँ पिनमा इन्टर्स गरिदियो । इन्सर्ट गरेपछि एउटा बुथमा जति पैसा छ त्यो पैसा बुथबाट निकाल्न सक्ने भयो । जति धेरै एटीएमकार्ड र पीन प्रयोग गर्यो त्यति नै धेरै पैसा आउँछ । १३२ ओटा कार्डबाट त धेरै नै पैसा आईहाल्छ नि ।
बैंकको सफ्टवेयर सिस्टमलाई नै बाइपास गरेर बैंकमा अलर्ट नआई कन पैसा निकालेको देखिन्छ । बैंकको सफ्टवेयरमा नै नछिरी कन पैसा निकालेको देखिन्छ । होटलको गार्डलाई पहिले एक लाख दिएको छ भन्ने सुन्नमा आएको थियो तर पछि बुझ्दा ७ सय ४० रुपैंया मात्र दिएको छ भन्ने बुझ्नमा आयो ।